बालक अपहरण घटनाको आरोपमा चार जना गिरफ्तार

  ०७६ वैशाख २७ गते

राजगढ गाउँपालिका–३ नर्घोका १२ वर्षीय लक्ष्मण यादवलाई अपहरण गरेको आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका ३१ वर्षीय कान्छा भनिने रामअवतार यादव, ३२ वर्षीय सत्येन्द्र यादव, महादेवा गाउँपालिका–१ का ३६ वर्षीय प्रमोद भनिने जोगबिर यादव र तिरहुत गाउँपालिका–४ डिमनका ४५ वर्षीय वीरेन्द्रप्रसाद यादवलाई वैशाख २६ गते गिरफ्तार गरेको छ ।

प्रहरीले रामअवतारलाई गिरफ्तार गरेपछि उनकै बयानका आधारमा सत्येन्द्र, जोगबिर र वीरेन्द्रलाई गिरफ्तार गरेको जनाएको छ । सत्येन्द्र वीरेन्द्रका बहिनी ज्वाई र जोगबिर साला हुन् ।

एसपी राजेन्द्र विष्टका अनुसार रामअवतार लगायतकाले बालकको अपहरण गरेको भन्दै बालकका बुबा जागेश्वर यादवले जिल्ला प्रहरी कार्यालयमा वैशाख १८ गते दिएको उजुरी दर्ता गरी रामअवतारलाई गिरफ्तार गरेपछि उनकै बयानका आधारमा अन्य तीन जना गिरफ्तार भएका हुन् ।

महादेवा गाउँपालिका–२ अकबरपुर बस्ने मामा भोलेन्द्र यादवको बिहेमा आफ्नै गाउँ जन्ती आएका बेला वैशाख १३ गते राति बालकको अपहरण भएको थियो ।

भोलेन्द्रले वैशाख १५ गते जिल्ला प्रहरी कार्यालयमा बालकको हुलिया जाहेरी दिएपछि सप्तरी प्रहरीको टोलीले भारत बिहारको सितामढी कुम्भ सिवहरस्थित एक होटलबाट बेवारिसे अवस्थामा बालकलाई वैशाख १७ गते विहान उद्धार गरी राजविराज ल्याएको थियो ।


मनोहरकुमार पोखरेल