बालक अपहरण घटनाका फरार आरोपित गिरफ्तार

  ०७३ कात्तिक २२ गते

१६ वर्षीय सञ्जीप साहलाई अपहरण गरेको आरोपमा नौ वर्षकैद सजाय फैसला सुनाइएका फरार आरोपित बरही विरपुर गाविस-५ का २८ वर्षीय बिक्रम भनिने धर्मदेव यादवलाई प्रहरीले कात्तिक २१ गते गिरफ्तार गरी कात्तिक २२ गते राजविराज कारागारमा थुनामा पठाएको छ ।

६ वर्षअघि छठ पर्वका दिन ०६७ कात्तिक २६ गते गाउँको मिश्रा पोखरी डिलबाट बरही विरपुर गाविस-५ का १६ वर्षीय सञ्जीप साह अपहरणमा परेका थिए । अपहरण आरोपमा फरार रहेका यादव ६ वर्षपछि छठ पर्वकै दिन गिरफ्तारीमा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर कार्कीले बताए ।

अपहरणमा संलग्न रहेको आरोपमा यादवसहित बरही विरपुर गाविस-५ का ४५ वर्षीय भोलेन्द्रप्रसाद यादव, ३५ वर्षीय कृष्णदेव यादव, ३१ वर्षीय गुलाव शर्मा र फकिरा गाविस-५ का २८ वर्षीय अशोक यादवमाथि जिल्ला प्रहरी कार्यालयले मुद्दा चलाएको थियो ।

जिल्ला अदालतको आदेशले भोलेन्द्र ०६८ जेठ २० गतेदेखि र पुनरावेदन आदालतको आदेशले अशोक ०६९ मङ्सिर ५ गतेदेखि राजविराज कारागारमा थुनामा थिए । जिल्ला अदालतले ०७० मङ्सिर २१ गते आरोपितहरूलाई सफाई दिने फैसला गरेपछि कारागारमा थुनामा रहेका अशोक र भोलेन्द्र रिहा भएका थिए ।

जिल्ला अदालतको सफाई दिने फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्ट्याउँदै ०७३ भदौ १५ गते पाँचै जना आरोपितलाई नौ वर्षकैद, जनही २५ हजार जरिवाना र १० लाख ५७ हजार ५ सय रुपियाँ क्षतिपूर्ति दामासाहीले भराउने फैसला गरेको छ ।


मनोहरकुमार पोखरेल