बालकले चोरी गरेको जरिबाना तिर्न नसक्दा सात परिवार बहिस्कारमा

  ०७६ कात्तिक १ गते

कटहरी गाउँपालिका–७ रूपडीया टोलमा चोरी गरेको तीन ओटा हाँसको जरिबाना नतिरेको भन्दै गाउँलेहरूले सात परिवारलाई बहिस्कार गरेका छन् ।

६ जना बालकले गत भदौ २३ गते स्थानीय लट्याङ सरदारको तीन ओटा हाँस चोरी गरेको आरोप लगाएपछि गाउँलेहरूले भेला गरी ३० हजार रुपियाँ जरिबाना तिर्नुपर्ने निर्णय गरेका थिए ।

जरिबाना तिर्न एक महिनाको समय दिएपनि तोकिएको समयमा सो रकम तिर्न नसकेपछि उनीहरूलाई बहिस्कार गरेको भन्दै पीडितहरू गाउँपालिका र प्रहरी कार्यालयमा न्याय माग्न पुगेका छन् । बहिस्कार गरिएका परिवार र अन्य परिवारबिच आउजाउ समेत बन्द रहेको छ ।

चोरीको आरोप लागेका ६ जनाले तीन ओटा हाँसको ३० हजार रुपियाँ नतिरेपछि कटहरी गाउँपालिका–७ रूपडीया टोलका ललीता यादव, बुजीया सरदार, टिकवा सरदार, गीता सरदार, राजकुमारी सरदार, लगनी सरदार र मञ्जादेवी सरदारको परिवार बहिस्कारमा परेको हो । सात परिवारलाई गाँउका ९३ घरमा प्रवेश गर्न रोक लगाएको पीडितले बताएका छन् ।

चोरीको आरोपमा बहिस्कारमा परेका बालकहरूले पटकपटक चोरी गर्ने गरेकाले बहिस्कार गरेको स्थानीयको भनाई छ ।

बहिस्कारमा परेका सात परिवारले उक्त टोलको कुनै घरमा जान नपाउने, बाटोमा हिँड्न नपाउने, पसल, धान मिल÷कलमासमेत जान बन्देज लगाएको पीडित मञ्जादेवी सरदारले बताइन् ।

असोज २८ गते बुधबारदेखि उनीहरूलाई गाउँमा बन्देज लागाइएको हो । मञ्जादेवीका छुट्टिएर बसेका छोरालाईसमेत गाउँका घरमा प्रवेश गर्न रोक लागाइएको छ ।

सत्यनारायण सरदार, दलकुमार ठाकुर, बेचन सरदारलगायतको समूहले उनीहरूलाई ३० हजार रुपियाँ जरिबाना नतिरेका कारण गाउँका घरहरूमा प्रवेशमा बन्देज गरेको पीडित परिवारको गुनासो छ ।

जरिबाना गराउने मध्येका बेचन सरदारले समाजले निर्णय गरेर यस्तो निर्णय गरिएको बताए । समाजले गरेको निर्णय नमानी प्रहरी र गाउँपालिकामा गएर समाजको अपमान गरेको उनको आरोप छ ।

कटहरी गाउँपालिका उपाध्यक्ष मञ्जिताकुमारी सरदारले दुवै पक्षसँग अनौपचारिक रूपमा छलफल गरिरहेको बताइन् ।


इन्दिरा भट्टराई