बालकको अपहरणपछि हत्या गरेको आरोपमा सर्वस्वसहित जन्मकैदको फैसला

  ०७३ चैत ४ गते

सुखिपुर गाउँपालिका-६ का १४ वर्षीय श्रवण भण्डारीलाई अपहरण गरी हत्या गरेको आरोपमा जिल्ला अदालतले चैत ३ गते चारजना आरोपितहरूलाई सर्वस्वसहित जन्मकैद, जनही ५० हजार रुपियाँ जरिबाना र ३ हजार ५ सय रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ ।

सोही घटनाका आरोपित तीनजनालाई ११ वर्षकैद, जनही ५० हजार रुपियाँ जरिबाना र ३ हजार ५ सय रुपियाँ क्षतिपूर्ति र एक जनालाई २० रुपियाँ जरिबानाको फैसला गरेको छ ।

जन्मकैदको सजाय हुनेहरूमा सुखिपुर गाउँपालिका-६ का २७ वर्षीय दिनेश भनिने उमेश यादव, ५३ वर्षीय लक्ष्मी भण्डारी, भारत दरभङ्गा घर भई हाल सुखिपुर गाउँपालिका-१ बस्ने २० वर्षीय रामकृष्ण शर्मा र २७ वर्षीय आमोद भनिने अमरकुमार साफी रहेका छन् ।

त्यसैगरी ११ वर्षकैदको सजाय हुनेहरूमा मोहनपुर कमलपुरका ५५ वर्षीय बिन्देश्वर यादव, ५५ वर्षीय धनजित यादव र १९ वर्षीय रामचरण वातर रहेका छन् । जरिबाना हुनेमा सुखिपुर गाउँपालिका-१ का ३५ वर्षीय जितेन्द्र चौधरी रहेका छन् ।

जिल्ला अदालतका न्यायाधीश राजेन्द्रप्रसाद अधिकारीको एकल इजलासले सो फैसला गरेको सहायक सरकारी वकिल दिपेन्द्र दनुवारले बताए ।

सुखिपुर गाविस-६ का १४ वर्षीय श्रवण भण्डारीको ०७२ जेठ ११ गते अपहरण भएकोमा जेठ २२ गते हत्या गरी उनको शव खेतमा गाडिएको अवस्थामा फेला परेको थियो ।

मृतक बालकको शवको पोष्टमार्टम रामकुमार उमाप्रसाद अस्पताल लहानमा जेठ २२ गते भएको र सोही दिन मृतककी आमाले जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयले जनायो ।


दुर्गा परियार