'बालअधिकारको सुनिश्चितता गर'-राष्ट्रिय मानव अधिकार आयोग 

  ०७३ साउन ७ गते

राजनीति दल तथा तीनका भातृ सङ्गठनहरूको आयोजनामा हुने गरेका विरोध सभा, जुलुस एवम् राजनीतिक प्रदर्शनका कार्यक्रमहरूमा बालबालिकाहरूको व्यापक प्रयोग भएकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाउँदै बाल अधिकार सुनिश्चितता गर्न आग्रह गरेको छ ।

आयोगको अनुगमनबाट त्यस्ता प्रदर्शनहरूमा बालबालिकाको व्यापक प्रयोग भएको देखिएको भन्दै आयोगले साउन ७ गते एक विज्ञप्तिमार्फत राजनीतिक उद्देश्य प्राप्तिका लागि बालबालिकाको प्रयोग तत्काल रोक्न राजनीतिक दलहरूलाई आग्रह गरेको हो ।

आयोगले राजनीतिक उद्देश्य प्राप्तिका लागि दलहरूबाट अयोजित कार्यहरू बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९८९ को धारा २८ तथा नेपालको संविधानको धारा ३९ विपरितको कार्य हो भन्दै यस्ता कार्यबाट बालबालिकाले पढ्न पाउने अधिकार तथा बालबालिकाको स्वतन्त्रताको अधिकारसमेत उल्लङ्घन भएको जनाएको छ ।

आयोगले बालबालिका शान्ति क्षेत्र हुन् भनी नेपाल सरकारले प्रतिबद्धता जनाइसकेको तथा राजनीतिक दलहरूको चुनावी घोषणापत्रमा बालअधिकारको सुनिश्चितता गर्ने प्रतिबद्धतासमेत व्यक्त भएको परिपेक्ष्यमा सो विपरित बालबालिकाको प्रयोग गर्नु अत्यन्त दुःखद स्थिति भएको जनाएको छ ।

विद्यालयका बसहरू लक्षित गरी भएको आगजनि प्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त घटनाका दोषी पहिचान गरी कानुन बमोजिम कारबाही गर्न विज्ञप्तिमार्फत सरकारसँग आग्रह समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ-'राजनीतिक दलहरू आफ्ना प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन गर्न जिम्मेवार भई बालबालिका तथा विद्यालय शान्ति क्षेत्र हुन् भन्ने नारालाई पूर्णरुपमा व्यवहारमा उतारी यस्ता कार्यहरू भविष्यमा नगर्न, नगराउन सम्बन्धित सबै राजनीतिक दल तथा तीनका भातृ सङ्गठनहरूको ध्यानाकर्षण गराउँदछ ।'-आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।


रामकुमारी श्रेष्ठ