बारेकोट क्षेत्रमा खाद्यान्न अभाव

  ०७६ माघ २० गते

बारेकोट गाँउपालिकाको नायकवाडास्थित घाट डिपोमा चामल नहुँदा बारेकोट क्षेत्रमा खाद्यन्न अभाव भएको स्थानीयबासीले गुनासो गरेका छन् ।

गाँउमा उत्पादन भएको खाद्यान्न सकिएपछि स्थानीय समस्यामा परेका हुन । गाउँमा उत्पादित अन्न सकिएको र खाद्य डिपोमा चामल ढुवानीको जिम्मा लिएका ठेकेदारले समयमा ढुवानी नगरेपछि बारेकोटवासी खाद्य सङ्कटको चपेटामा परेका हुन् ।

गाउँपालिकामा रहेको नेपाल खाद्य संस्थानको एक मात्र खाद्य डिपो यतिवेला रित्तै छ । साविकको कर्णालीका जुम्ला र डोल्पासँग सिमाना जोडिएको अत्यन्त दुर्गम गाँउपालिकाको रुपमा रहेको यो गाउँपालिकामा प्रत्येक वर्ष खाद्य सङ्कट हुने गर्दछ ।

यहाँको खाद्य सङ्कट टार्न सरकारले यस बर्ष २ हजार ५ सय क्वीन्टल कोटा निर्धारण गरेको छ । बारेकोटवासीले झेल्दै आएको खाद्य सङ्कट टार्न सरकारले चामल ढुवानीमा अनुदान दिई सहुलियत दरमा चामल बिक्री गर्ने लक्ष्य राखेको छ । तर ठेकेदारको लापरवाही र ढिलासुस्तीले गर्दा स्थानीयले सहुलियत दरको चामल उपभोग गर्न नपाएको गाउँपालिका उपाध्यक्ष ओमा शाहीले बताउनु भयो ।

स्थानीय पसलमा भएको चामल पनि खाद्य संस्थानको मुल्य भन्दा दोब्बर पर्छ जुन किनेर खान सक्ने स्थानीयको आर्थिक अवस्था छैन । गाँउपालिकासम्म पुग्ने यातायातको सुविधा छैन । ढुवानीको एक मात्र माध्यम भनेका घोडा खच्चड हुन् । घोडा खच्चडबाट ढुवानी गर्दा मुल्य बढी पर्छ भन्दै ठेकेदारले चामल ढुवानी गरेका छैनन् । वैशाखसम्म यातायातको पहुँच जोडिने सम्भावना भएकाले ठेकेदारले ट्याक्टरबाट ढुवानी गर्न ढिलाई गरिरहेको स्थानीयको बुझाई छ । चामल ढुवानीको जिम्मा पाएका एन वि विल्डर्सका प्रतिनिधि मानबहादुर खड्काले खाद्य संस्थानबाट ४ सय ५४ क्वीन्टल चामल बुझेर लगेका छन् । त्यस मध्ये ३ सय २९ क्वीन्टल चामल डिपोमा पु¥याएका छन् ।

डिपोमा पुगेको सबै चामल बिक्री भइसकेको छ । १० क्वीन्टल मात्र मौज्दात देखिन्छ खाद्य संस्थान जाजरकोट शाखाका निमित्त प्रमुख रामप्रसाद पौडेलले भने ढुवानीको जिम्मा लिएका सप्लायर्सलाई बारम्वार ताकेका गरिरहेका छौ । शाखा प्रमुख पौडेलका अनुसार कार्यालयको ताकेतालाई ढुवानीको जिम्मा लिएका ठेकेदारले सुनुवाई गरेका छैनन् । डिपोमा चामल नहुँदा चामल लिन आएका स्थानीय रित्तै फर्कने गरेको शाखा प्रमुख पौडेलले बताउनु भयो । ढुवानीको जिम्मा पाएको एन वि विल्डर्सका प्रतिनिधि मानबहादुर खड्काले आफूले असार भित्र सबै चामल ढुवानी गर्ने गरी ठेक्का सम्झौता गरेको बताउँदै केही समयमै बाँकी चामल ढुवानी गर्ने बताए । जिल्ला सदरमुकाम खलंगामा भने अझै एक हजार आठ सय क्वीन्टल चामल गोदाममै थन्किएको छ ।

 


दिनेश कुमार श्रेष्ठ