बाबुद्वारा एक वर्षदेखि बलात्कार, पीडित बालिका न्यायको खोजीमा

  ०७५ माघ २० गते

१४ वर्षीया बालिकालाई बाबुले एक वर्षदेखि लगातार बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन् ।

पीडित बालिकाकी आमाको ६ वर्षअघि क्यान्सर रोगले मृत्यु भएपछि दुई छोरीहरू सहित पीडितका बाबु भारतको ढाका भन्ने स्थानमा बस्दै आएका थिए ।

विगत एक वर्षदेखि बाबुले विभिन्न धाक धम्की दिएर लगातार बलात्कार गर्दै आएको र बाबुको बलात्कारका कारण तीन पटकसम्म गर्भपतन गराएको पीडितले बताइन् ।

पीडित बालिका र उनकी आठ वर्षीया बहिनी माघ १८ गते भारतबाट भागेर बीरगंजस्थित माइती नेपालको सम्पर्कमा पुगेका थिए ।

माइती नेपालले पर्सा प्रहरीको सहयोगमा पीडितहरूलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाएपछि घटना सार्वजनिक भएको हो ।

बलात्कारको घटना विदेशी भूमिमा भएकाले आरोपितलाई गिरफ्तार गर्न कानुनी समस्या रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी युवराज खड्काले बताए ।

पीडित बालिकासहित उनकी बहिनीलाई महिला तथा बालबालिका सेवा केन्द्रमा सुरक्षित राख्न पठाइएकोमा उक्त केन्द्रले पीडितहरूको आफन्त बोलाएर जिम्मा लगाएको सेवा केन्द्रकी असइ फुलमाया गुरोले बताइन् ।


कोपिला तिमल्सिना