बाढी पीडित मृतक परिवारलाई ३ लाख रुपियाँ राहत दिने प्रदेश सरकारको निर्णय

  ०७६ असार २८ गते

प्रदेश नं. २ को सरकारले बाढी पहिरोका भएको धनजनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३/३ लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

केही दिन यताको अविरल वर्षाले प्रदेश भरिकै जनजीवन अक्रान्त भएको बेला असार २८ गते बसेको मन्त्री परिषदको आकस्मिक बैठकले राहत र उद्धार लाई निरन्तरता दिँदै मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

यसका साथै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद व्यवस्थापन समितिलाई तत्कालका लागि १०/१० लाख रुपियाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

मन्त्री परिषदको बैठकले हालसम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयम्सेवकहरूलाई धन्यवाद दिँदै राहत तथा उद्धारमा जुट्न प्रदेशभरिका युवाहरूलाई आह्वान समेत गरेको छ ।

बाढी पहिरोका कारण सबै बाटोहरू अवरूद्ध भएको अवस्था राहत तथा उद्धारका लागि सङ्घीय सरकारसँग समन्वय गरेर हेलिकप्टर मगाउने पहल भइरहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जनाए ।


अजयकुमार साह