बाढी पीडितको बिजोग

  ०७४ साउन ३२ गते

निरन्तर वर्षापछि आएको बाढीले जीउने आधार नै बगाएको बाढी पीडितहरूको दुखेसो छ । 'घर बनाउन वर्षौँ लाग्यो । तर, हेर्दाहेर्दै बाढीले सबै बगाएको बाढी पीडित एकडारा गाउँपालिका-७ कोल्हुवाका ७० वर्षीय राम परीक्षण बताउँछन् ।

साउन २८ गते मध्यराति १२ बजे सुतिरहेको अवस्थामा घरको पछाडिबाट बाढीको भेल फुट्यो र घरसँगै जम्मा गरेर राखेको अन्नबालीका साथै छोराहरूको लागि सञ्चय गरेको अन्य मुल्यवान सामानहरू समेत बगाएको परीक्षणले बताए ।

त्यसतै जलेश्वर नगरपालिका-१ स्थित पासमान टोलको अवस्था पनि उस्तै छ । उक्त टोलमा रहेका कच्ची अधिकांश घरहरू काम नै नलाग्ने छन् भने बचेका घरहरू समेत मर्मत गर्न पैसा नभएको पीडितहरूको दुखेसो छ ।

बाढी पीडित रमियादेवी पासमान भन्छिन्-'दैनिक ज्यालादारी गरेर बालबच्चाको लालनपालनको लागि जोहो गरेको भएभरको सामानहरू सबै बाढीले बगाए । शीरमाथिको छाप्रो रहेन र खानाको लागि समेत अब अरूको मुख ताक्नु पर्ने भएको छ ।'-पीडितहरूको गुनासो छ ।

बाढी पीडित भोकै रूँदैछन, उद्धार समिति तथ्याङक सङ्कलनमै

अविरल वर्षाले ल्याएको बाढीले घरबारविहीन भई सेल्टरहरूमा शरण लिएका पीडितहरू भोकै बस्दा समेत स्थानीय प्रशासन र दैवी प्रकोप उद्धार समिति भने अझै तथ्याङ्क सङ्कलनमै अलमलिएको छ । साउन ३१ गते बसेको दैवी प्रकोप उद्धार समितिको बैठकमा राहत सामग्री खोज्दै गरेको भेटियो भने तथ्याङ्क सङ्कलन द्रुत गतिमा गर्ने निर्णय गरियो । यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी बावुराम श्रेष्ठले राहत र उद्धारकार्य द्रुतगतिमा भइरहेको बताए ।

सुरक्षाकर्मीहरूको साहसिक कार्य

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी राहत र उद्धार कार्यमा चौबिसै घण्टा परिचालित भएका छन् । बाढी पछिको उद्धार र राहत कार्यमा उनीहरू निरन्तर खटेका हुन् । महोत्तरीमा भएको क्षति ठूलै रहेकोले तीन ओटै निकायका सुरक्षाकर्मीको सङ्ख्या भने अपुग भएकोले जिल्लाको अन्य ग्रामीण बस्तीहरूमा अझै पूर्ण पहुँच भने हुन सकेको छैन । नेपाली सेनाले एक टुकडी जलेश्वर जनकपुर सडक खण्डको पर्सा भन्ने स्थानमा नाउमा मानिसहरूलाई उद्धार गरिरहेको छ ।


अजयकुमार साह