बाढी पहिरोका कारण ३२ जनाको ज्यान गयो, २१ बेपत्ता

  ०७६ असार २९ गते

केही दिनदेखि आएको अविरल वर्षका कारण मुलुकभरमा ३२ जनाको ज्यान गएको र २१ जना बेपत्ता भएका गृह मन्त्रालयले जनाएको छ ।

असार २८ गते दिउँसोसम्म २६ जना घाइते भएका, २ हजार १ सय ५६ जनाको उद्दार गरिएको र १० हजार ३ सय ८५ घरधुरी अस्थायी रूपमा विस्थापित भएका छन् ।

बाढी पहिरोका कारण अबरूद्ध बनेका १० ओटा मुख्य मार्ग खुलाउने काम सुरू गरिएको पनि मन्त्रालयले जनाएको छ ।

बन्द भएका मार्गहरूमा पूर्वपश्चिम राजमार्ग, तेर्‍हथुम म्याङ्लुङ बसन्तपुर सडक, मेची राजमार्ग, उदयपुर गाईघाट खोटाङ मार्ग, खोटाङ हलेसी तुवाचुङ मार्ग, सिन्धुली गोलञ्जोर मार्ग, ललितपुर महांकाल कुलेखानी मार्ग, लमजुङ मनाङ सडक, पासाङ ल्हामु राजमार्ग, बेनी जोमसोम सडक लगायतका मार्ग खोल्ने प्रयास भइरहेको मन्त्रालयले वेभसाइडमार्फत जानकारी दिएको छ ।

त्यसैगरी विपद जोखिम न्यूनीकरण तथाव्यवस्थापन कार्यकारी समितिको बैठकले स्थानीय स्तरमा स्थानीय तहले र जिल्ला विपद व्यवस्थापन समितिले स्थानीय तह तथा प्रदेश सरकारसँग समन्वय गरी तत्काल राहतका कार्यहरू अगाडि बढाउन निर्देशन दिने निर्णय गरेको छ ।

निर्णयमा भनिएको छ–‘थप स्रोत साधनको आवश्यकता परेमा जिल्ला विपद व्यवस्थापन समितिले गृह मन्त्रालयलाई अनुरोध गर्ने र निर्देशन अनुसार उद्दार र राहतका कार्य गर्ने ।’


अनलाइन डेस्क