बाढीले विद्यालय बगाएपछि बालबालिका धुलो र खुल्ला चौरमा पढ्न बाध्य

  ०७७ फागुन २८ गते

नौ महिना अगाडि ०७७ असार १७ गते आएको भिषण बाढीले बगाएको जनचेतन प्राथमिक विद्यालयका विद्यार्थी अहिलेसम्म पनि खुल्ला आकाश मुनि चिसो भुइँमा बसेर पढ्न बाध्य भएका छन् ।

बाढीले ढोरपाटन ९ सुप्राङ स्थित यस विद्यालयको बालकक्षा, चार कोठे भवन सहित खेल मैदान, धारो र शौचालय सबै बगाएको थियो ।

चैत महिनासम्म पनि कठ्याङि«ने जाडो हुने यस क्षेत्रका १ सय ५० जना बालबालिका नयाँ शैक्षिक सत्र सुरू भएदेखिनै खोलाको तीरमा चिसो र धुलोमा बसेर अध्यन गर्न बाध्य छन् ।

बालशिक्षा देखि कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा सबै बाढी प्रभावित बालबालिका छन् ।

‘विद्यालयको भवन छैन, कुर्चि छैनन्, भुइँमा बसेर पढ्नलाई सामान्य गुन्द्री सम्मपनि छैन ।,’–अभिभावक गोविन्द पुनले भन्नुभयो–‘बिहान विद्यालय पठाएका आफ्नै छोराछोरी साँझ घर फर्किदा धुलोले चिन्नै नसकिने हुन्छन् ।’

गृहमन्त्री देखि सांसद र जनप्रतिनिधिले बाढीग्रस्त क्षेत्रको तत्काल अनुगमन गरेपनि कुनै काम नगरेको स्थानीयको गुनासो छ ।

photo20210313Baglung

‘विद्यालय नआए सर, मिसले गाली गर्नुहुन्छ,’–कक्षा तीनमा अध्यनरत हिमाल विक भन्नुहुन्छ,–‘यहाँ पढने ठाउँमा धुलो छ, हावा चल्यो भने मुखमै धुलो पस्छ हामी त बिरामी भइराख्छौं ।’ धुलाम्य चौरमा बसेर पढने पढाउने गर्दा विद्यार्थी र शिक्षकहरू समेत बिरामी परिराख्ने गरेको उनीहरूको गुनासो छ ।

बाढी गएको सात महिना बितिसक्दा समेत स्थानीय देखि प्रदेश र सङ्घिय सरकार मुकदर्शक बनेर बसेको अभिभावक पुनले गुनासो गर्नुभयो ।

‘विद्यालयको यस्तो हालत हुँदा पनि कुनै पनि निकायले गम्भीरताका साथ लिएन, सरकार र सम्बन्धित निकायले चासो दिएको भए अहिले सम्म विद्यालय भवन बनिसक्थ्यो,’–पुनले भन्नुभयोे,–‘सबै एकै ठाउँको चौरमा राखेर पढाइएको छ, चिसो र धुलोले बालबालिकाको ध्यान पढाइमा एकाग्र बनाउने अवस्था नै छैन, आएका जति सबैलाई व्यथा सुनायौ, हाम्रो अरू पहुँच छैन ।’

‘हामीहरूले तत्कालै अस्थायी कक्षा बनाउने तयारी पनि गरेका थियौ’– उहाँले भन्नुभयो,– ‘तर, सरकार र तिनका प्रतिनिधि, नेताहरूले छिट्टै निर्माण हुने आश्वासनले झुक्याएका कारण पुरै जाडो मौसम भरी बालबालिकाले चिसो र धुलोमा पढ्न बाध्य भए ।’

विद्यालयको समस्या लिएर ढोरपाटन नगरपालिका पुगेका जनचेतना प्राथमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर घर्ति उल्टै अपमान भोेगेर फर्किनु परेको गुनासो गर्नुहुन्छ ।

बाढीले स्कुलमा बस्ने, लेख्ने, पढाउने सबै बगाएपछि ह्वाइट बोर्ड, घण्टी, अस्थायी शौचालयका लागि माग लिएर कार्यालय पुगेको थिए,’– प्रधानाध्यापक घर्तिले भन्नुभयो,– ‘हाकिमले उल्टै तपाई मास्टरकी ठेकेदार भनेर जवाफ लगाए, त्यसपछि फर्केर पनि गएको छैन ।’

अहिले विद्यालयमा दुई कोठे भवन निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम सुरू गरेको छ ।

पुनर्निर्माणबाट ट्रसको भवन निर्माणका लागि २३ लाख ९० हजार रुपियाँ बजेट विनियोजन भएको छ भने ढोरपाटन नगरपालिकाबाट शौचालय निर्माणका लागि ७ लाख रुपियाँ बजेट परेको छ ।

भवन निर्माणमा विद्यालयको आफ्नै जग्गा नभएपछि स्थानीय युवाको पहलमा सुप्राङमा ३० लाख रुपियाँमा तीन रोपनी जग्गा खरिद गरिएको छ ।

‘प्राधिकरण र पालिकाबाट ढिला गरी प्राप्त यो बजेट प्रयाप्त छैन, अहिले दुई निर्माण हुने दुई कोठे भवनलाई काठले बारेर चार ओटा बनाएर पढाउने सोच छ ।,’ – प्रधानाध्यापक घर्तिले भन्नुभयो –‘पछि तल्ला थप्ने योजनाका साथ काम अघि बढाएका छौ, यसका लागि बजेट आउने सुनिश्चितता भने छैन ।’

भवन सकिन अझै दुईतीन महिना लाग्ने भएकाले अझैपनि भुइँमै राखेर पढाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले विद्यालय भवन निर्माणको लागि प्राधिकरण र शौचालयको लागि बजेट छुट्टाएर निर्माण सम्पन्न नहुँदासम्म व्यवस्थापन गरेर पढाउन भनिएको बताउनुभयो ।


सिर्जना पन्त