बाढीले काठे पुल बगाएपछि बालबालिका विद्यालय जानबाट वञ्चित

  ०७३ असोज १३ गते

त्रियुगा नदीमा पानीको बहाव नघटेपछि भलायडाँडा-३ अँधेरीका ५० जना भन्दा बढी बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् ।

असोज ४ र ५ गते परेको वर्षातका कारण त्रियुगा नदीमा आएको बाढीले सात वर्ष अगाडि स्थानीयले बनाएको काठे पुल बगाएपछि बालबालिका विद्यालय जानबाट वञ्चित भएका हुन् ।

कक्षा ३ सम्म गाउँमा रहेको विद्यालयको अध्ययनपछि बालबालिका निम्न माध्यमिक र माध्यमिक तहका लागि एक घण्टाको पैदल यात्रा गरी त्रियुगा नगरपालिका-१२ स्थित जनता माध्यमिक विद्यालय कौवाईमा जाने गरेको विश्व कञ्चन प्राथामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर बस्नेतले बताए ।

उनले सामान्य अवस्थामा बालबालिका एक घण्टाको पैदल यात्रा गरेपनि बाढीको जोखिम रहेको अवस्थामा विद्यालय पठाउन नसकिने बताए ।

विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर कार्कीले पुल नबनुञ्जेल र नदीमा पानीको बहाव नघटुञ्जेल अभिभावकलाई जोखिम मोलेर नानीबावुलाई विद्यालय पठाउ भन्न सक्ने अवस्था नरहेको बताए ।

सरकारी पहल र प्रयासबाट त्रियुगा नदीमा पक्की पुल निर्माण गर्न सके विद्यार्थीलाई विद्यालय आवतजावत गर्न निकै सहज हुने स्थानीय अभिभावक बताउँछन् ।


भरत खड्का