बाढीले काठेपुल बगाएपछि बालबालिका विद्यालय जानबाट वञ्चित

  ०७५ वैशाख ४ गते

बाढीले बगाएको काठेपुल १० महिनासम्म पनि नबनाउँदा ताँजाकोट गाउँपालिका-३ मासपुरका २५ जना बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् ।

हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा रहेको कवाडी खोलाको काठेपुल ०७४ असारमा आएको बाढीले भत्काएपछि अस्थायी संरचना बनाइएको भएपनि ०७४ पुसमा आएको अर्को बाढीले पुनः बगाएपछि उक्त गाउँका बालबालिका विद्यालय जानबाट वञ्चित भएका हुन् । नयाँ शैक्षिक सत्र फागुनदेखि सुरू भएकोमा उक्त गाउँका बालबालिका अहिलेसम्म विद्यालय जान सकेका छैनन् ।

मासपुर गाउँका बालबालिका बाजुरा जिल्लाको हिमाली गाउँपालिका-१ स्थित गङ्गा निमावि बौडी विछ्या विद्यालयमा पढ्न जाने गर्दथे ।

मासपुरको वानादेव आधारभूत विद्यालयमा तीन कक्षासम्म पढाइ हुन्छ । माथिल्लो कक्षामा पढ्न गाउँदेखि ४५ मिनेटको पैदल यात्रा टाढा रहेको छिमेकी जिल्ला बाजुराको गङ्गा निमावि बौडी विद्यालय जानुपर्ने बाध्यता रहेको मासपुर वानादेव विद्यालयका शिक्षक रत्नलाल जैसीले बताए । मासपुरबाट २५ जना बालबालिका कक्षा ४ देखि ८ सम्म अध्ययन गर्न त्यहाँ जान्छन् ।

बाढीले पुल बगाएपछि मासपुर गाउँका बालबालिका दुई महिनादेखि विद्यालय जानबाट वञ्चित भएको स्थानीयबासी जोख्या बुढाले बताए ।

अहिले पनि अस्थायी काठेपुलबाट यात्रा गर्न बालबालिका डराउँछन् । 'काठेपुल तरेर विद्यालय जाँदा डर लाग्छ ।'-कक्षा ४ का विद्यार्थी लोकजन बुढाले भने । जिल्ला सदरमुकाम सिमकोटबाट पाँच दिनको पैदल यात्रामा पुगिने ताँजाकोट गाउँपालिका भौगोलिक रूपमा विकट र त्यस क्षेत्रको विकास निकै पछि परेको छ ।

ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले मासपुरमाथि राज्यले निकै अन्याय गरेको बताउँदै आफ्नो कार्यकालमा शिक्षा र स्वास्थ्यमा सुधार गर्ने प्रतिबद्धता जनाए ।


नन्द सिंह