बाढीपीडित बस्तीमा छैन दसैँको रौनक
सुर्खेतका बाढीपीडितका शिविरमा दसैँको कुनै उल्लास छैन । विस्थापित चार वर्षदेखि त्रिपालको टहरामुनि बस्न बाध्य छन् ।
गिरिघाट शिविरका रामबहादुर नेपालीले आफूहरुको पुनःस्थापना नहुँदा चाडपर्वका बेलासमेत बाढीको पीडा भुल्न नसकेको बताए । थुप्रै विस्थापितले जमरा राख्न ठाउँ पाएनन् । “जमरा राख्ने ठाउँ छैन । पालमुनि कता सुत्नु ? कस्ता भान्सा बनाउनू ?” उनले भने-“जब बाढीले बिल्लीबाठ पार्यो । त्यति बेलैदेखि हामीले चाडपर्व मनाउन पाएका छैनौँ ।” यहाँका बराहताल गाउँपालिका, पञ्चपुरी, वीरेन्द्रनगर र भेरीगङ्गा नगरपालिकामा चार वर्षदेखि बाढीपीडित विस्थापित जीवन बिताउन बाध्य छन् ।
विसं २०७१ साउन २८ र २९ गते सुर्खेतमा आएको भीषण बाढीले धनजनमा ठूलो क्षति पुर्यायो । ९ सय ७० परिवार विस्थापित हुनाका साथै १ सय १५ जनाको मृत्यु भयो ।
वर्षभरी खान पुग्ने खेतबारी बाढीले बगरमा परिणत गराएपछि गिट्टी कुटेर गुजारा चलाउनुपरेको छ । विस्थापित परिवार अहिले पनि पुराना खुइलिएका पालको शरणमा छन् । तीनैमध्येकी हरिहरपुर डोप्काकी नन्दकली विक एक हुन् । उनको आर्थिक स्थिति राम्रै थियो । भेरीको बाढीले परिवारलाई बिल्लीबाठ मात्र बनाएन, वर्षभरी खान पुग्ने खेतबारी बगर बनायो । “नौ मुरी गहुँ बेच्थ्यौँ । ६०-७० मुरी बदाम फल्थ्यो । अझै पालबाट मुक्ति पाएका छैनौँ”-नन्दकलीले भनिन्-“बस्ने बास खाने अन्न नभए केको चाडपर्व मनाउनु ?”
गिरिघाट शिविरका सबै बराहताल गाउँपालिकामा पर्ने हरिहरपुर गाउँका बासिन्दा हुन् । बाढीले थातथलो बगरमा परिणत गरेपछि त्यहाँका सिस्नेरी, डोप्का, थापाडेराका बासिन्दा वीरेन्द्रनगर उपत्यका नजीकको गिरिघाट जङ्गलमा आश्रय लिएका हुन् । चार वर्षसम्म पुनःस्थापना नहुँदा विस्थापित आक्रोशित छन् ।
बाढीपीडित ललितबहादुर शाहीले गाउँपालिकाले दुई ओटा बजेट ल्याइसक्दा समेत आफूहरुलाई सम्बोधन नगरेको गुनासो गरे ।
“विस्थापितलाई ‘राष्ट्रिय समस्या’ भन्दै स्थानीय जनप्रतिनिधिले कुनै चासो दिँदैनन्”-उनले भने-“हाम्रो पीडा न स्थानीय सरकारले बुझेको छ न त प्रदेश र केन्द्रले नै ।”
गिरिघाट शिविरका ५४ वर्षीय रामबहादुर सुनार नेताको भाषण झल्झल्ती सम्झिरहेको बताउँछन् । “पुनःस्थापना गराउँछौँ भनेर भोट मागेको सम्झना अझ ताजै छ ।”-उनले गुनासो पोख्दै भने-“उतिबेला एक भोटको पनि महत्व थियो । आश्वासन दिनुसम्म दिए । आजभोलि फर्केर हेर्दैनन् ।” समाचार साभारः रासस
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…