बाढीपीडित आधारभूत आवश्यक्ताबाट वञ्चित

  ०७४ साउन ३२ गते

सप्तरीमा बाढीले घरबारविहीन भएका ३ हजार परिवारको अवस्था तनावपूर्ण बनेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले शिविरमा बसेकाहरूको खानेबस्ने व्यवस्था गरिएको दावी गरे पनि विभिन्न ठाउँमा पाल टांगेर बसेका विस्थापितहरू न्यूनतम आधारभूत सुविधाबाट वञ्चित छन् ।

Photo20170816Saptari1

गत साउन २६ गतेदेखि पाँच दिनसम्मको अविरल वर्षासँगै आएको बाढीले विस्थापित भएकाहरू आधारभूत आवश्यक्ता खाना, स्वच्छ पानी, औषधि उपचार र उचित बसोबासबाट वञ्चित छन् । बाढीले सप्तरीमा ५० हजार मानिस प्रभावित भएको र ३ हजार परिवारलाई पूर्ण रूपमा विस्थापित गरेको नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगतले बताए ।

Photo20170816Saptari2

बाढीले पूर्ण रूपमा घर क्षति भएका र घर बगाएर पीडित भएका परिवारहरू विगत एक सातादेखि को. बर्साइमा ३ सय, सकरपुरामा ४ सय, रम्पुरा मल्हनियाँमा ४ सय, सिस्वा बेल्हीमा ३० परिवारसहित विभिन्न गाउँमा विस्थापित भएको विपद् व्यवस्थापन कार्यक्रम संयोजक राजेश झाले जानकारी दिए । घर डुबानमा रहेको राजविराज नपा-२ मा ५५ परिवार स्थानीय विद्यालयमा आश्रय लिएर बसेका छन् ।

अस्थायी शिवरिमा बसेकाहरूले खान र सुत्न नपाएको गुनासो गरेका छन् । सडक किनारा, खुला चौर र विद्यालयमा आश्रय लिएर बसेकाहरूको विचल्ली छ । एकातिर विद्यालय बन्द भएर विद्यार्थीहरूको पढाइ चौपट भएको छ भने अर्कोतिर विद्यालय खोल्ने कुराले विस्थापितहरूमा कहाँ बस्ने भन्ने अन्यौलताले गाँजेको छ ।

Photo20170816Saptari3

परिवारसहित विभिन्न अस्थायी शिविरमा बसेकाहरू खानेपानीको कल डुबेकाले फोहोर पानी खान बाध्य छन् । लामखुट्टेबाट जोगिन उनीहरूसँग झुल छैन, आगो बाल्न दाउरा छैन, ओढने कपडा छैन ।

उद्धारपछि प्रारम्भिक चरणको राहत वितरण कार्य भइरहेको र त्यसलाई व्यवस्थित गर्ने प्रयासमा रहेको प्रजिअ भागिरथ पाण्डेले बताए । केही दिनपछि डुबान क्षेत्रमा पानी कम भई विस्थापितहरू घर फर्कने र जनजीवन विस्तारै सहज बन्ने आशा व्यक्त गर्दै प्रजिअ पाण्डेले साउन ३१ गतेदेखि राहत वितरणलाई तीव्रता दिइएको र साउन ३२ गतेदेखि स्वास्थ्यकर्मीको टोली समेत परिचालन गरिएको बताए ।

Photo20170816Saptari4


मनोहरकुमार पोखरेल