बाढीपहिरोबाट प्रभावितलाई राहत प्रदान गर्ने प्रदेश सरकारको निर्णय

  ०७६ साउन १० गते

कर्णाली प्रदेशका विभिन्न जिल्लाका बाढीपहिरोबाट प्रभावित भएका परिवारलाई कर्णाली प्रदेश सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

 

कर्णाली प्रदेश सरकारको साउन ९ गते बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिएकी छिन् ।

 

प्रदेश सरकारले डोल्पा जिल्लाको मुडकेचुला गाउँपालिका वडा नम्बर १, २ र ३ मा असार २८ गते आएको बाढी पहिरोमा परी मृत्यु भएका चार जनालाई प्रति मृतक १ लाख तथा बाढी पहिरोबाट पुर्ण रूपमा क्षति भएका घरपरिवारलाई विपद् पीडित आवास निर्माण सहयोग कार्यविधि २०७६ को दफा ९ बमोजिम घर निर्माणका लागि ३ लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

 

बाढीपहिरोबाट प्रभावितहरूको एकिन तथ्याङ्क सङ्कलन गरी उनीहरूलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको प्रवक्ता केसीले बताइन् ।

 

यस प्रदेशमा बाढी पहिरोमा परी सुर्खेतमा एक घर पुर्णरूपमा र १४ घर आंशिक रूपमा क्षति भएको तथा सुर्खेतमा १६,  डोल्पाामा तीन, दैलेखमा आठ, कालिकोट, रुकुम पश्चिम र सल्यानमा एक/एक घरपरिवार प्रभावित भएका छन् ।


दुर्गा थापा