बाढीग्रस्त ढोरपाटनमा १७ दिनदेखि अन्धकार, खानेपानीको चरम अभाव

  ०७७ असोज २ गते

बागलुङ जिल्लाको बाढीग्रस्त क्षेत्र ढोरपाटनको आधा दर्जन बस्तीमा खानेपानीको हाहाकार भएको छ ।

भदौ १७ गते राती पहिरोसँगै भूजीखोलामा आएको बाढीले आधा दर्जन भन्दा बढी गाउँका,  ८० घर पूर्ण रूपमा बगाएको छ भने ७० घरमा क्षति पुर्याएसँगै पानीको मुहान पाइप पनि बगाएको थियो ।

हालसम्म व्यवस्थित धारा समेत भइनसकेको उक्त बस्तीमा वितरण भएको खानेपानीको पाइप, धारा र खानेपानीका मुल समेत बाढीले भत्काएपछि खानेपानीको समस्या भएको हो ।

ढोरपाटन नगरपालिका–९ स्थित सुर्तिवाङमा पहाड खसेर आएको पहिरोले भूजीखोला थुनेर बाढीको रूप लिएको थियो ।

बाढीले बस्ती बगाएपछि आफन्तकोमा आश्रय लिएका बाढीपीडितहरूले खानेपानी समेत नपाएको गुनासो गरेका छन् ।

बाढीले क्षति पुर्याएको ढोरपाटन नगरपालिका–९ का द्वार, फल्लेघर, सुप्राङ, घट्टेपानी, दुनेपधेरा, भुसुन्दे, सुकुरूदुङ र लाकुरीबोट गाउँ बाढीले बगाएका कारण खानेपानीको समस्या भएको स्थानीय सम्मर बहादुर विकले बताउनुभयो ।

‘बाढी आएको थाहा पाएपछि भागेर परिवार बचाउन सफल भए तर त्यसले घरमा क्षति पुर्याएको छ,’ –विकले भन्नुभयो– ‘अहिले आफन्तकोमा आश्रय लिएर बसेपनि खानेपानीको पाइप बाढीले बगाउँदा सबैलाई समस्या भएको छ ।’

समस्या त खान बस्नको पनि छ तर पहिलो आवश्यकता पिउँने पानी नभएका कारण पानीको जोहो गर्न उपल्लो गाउँमा जानुपर्ने बाध्यता छ ।

घरैको धारमा आउने पानी बाढीका कारण बन्द भएकाले आधा घण्टा हिँडे्र कुँवाको पानी लिन जानुपर्ने बाध्यता रहेको लाकुरीबोटका भीमबहादुर बिकले बताउनुभयो ।

तत्कालै खानेपानीको व्यवस्थापन गर्न समस्या भएको ढोरपाटन नगरपालिका–९ का वडा अध्यक्ष हरी बहादुर घर्तीले बताउनुभयो । ‘बस्तीनै बगाएको छ, खानेपानी, विद्युत तथा सञ्चार सम्पर्क बिच्छेद भएको छ’– घर्तीले भन्नुभयो – ‘खानेपानीको पुरानो मुहान कहाँ थियो भन्ने अवस्था पनि छैन, तत्कालै राहत र उद्धारमा लागेका कारण खानेपानी व्यवस्थापन हुन सकेको छैन ।’

अझै बर्खाको समय भएकाले बाढीग्रस्त क्षेत्रमा मुल भए पनि हिउँदमा खानेपानीको चरम समस्या हुने देखिएको छ ।

बाढीले बस्तुहरू समेत बगाउँदा दुर्गन्ध र रोग फैलिने जोखिम समेत उत्तिकै छ । शुद्ध पानीको अभावमा खोल्साको पानी पिउँदा झाडापखला तथा अन्य रोगको समेत जोखिम हुने उत्तिकै सम्भावना रहेको बोवाङ स्वास्थ्य चौकीका एच.ए. रविन्द्र केसीले बताउनुभयो ।

तत्कालै खानेपानीमा किटाणु मार्ने औषधी हालेर प्रयोग गर्नका लागि गण्डकी प्रदेश सरकारले आवश्यक औषधी समेत बाढी पीडितलाई दिएको वडाध्यक्ष घर्तीले बताउनुभयो ।

बाढीले खानेपानीको मुलनै कहाँ थियो भन्ने एकिन नभएका कारण गाउँभन्दा धेरै माथिबाट खानेपानी व्यवस्थापनका लागि पहल थाल्नुपर्ने अवस्था छ ।

तत्कालै शुद्ध खानेपानीको व्यवस्थापन गर्न ढोरपाटन नगरपालिका लगायत अन्य सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने वडा अध्यक्ष घर्तीको भनाइ छ ।

त्यसैगरी बाढीले भूजिखोलाका ११ जलविद्युत अवरूद्ध भएका कारण भदौ १७ गतेदेखि ढोरपाटनवासी अन्धकारमा छन् । अवरूद्ध जलविद्युत आयोजनाको मर्मत थालिएको स्थानीय विजय कायतले जानकारी दिनुभयो ।

अहिले ढोरपाटनको बोबाङ गाउँ बाहेक अन्य गाउँ अन्धकार भएको वडाध्यक्ष घर्तीले जानकारी दिनुभयो ।  विद्युत नहुँदा भूजीखोलाको द्वार, फल्लेघर, सुप्राङ, घट्टेपानी, दुनेपधेरा, भुसुन्दे, सुकुरूदुङ र लाकुरीबोट गाउँ अन्धकार भएको हो ।

भूजीखोलाखोला किनारामा रहेका विद्युतगृहमा बाढी पसेर ठूलो क्षति पुगेका कारण अन्धकारमा बस्नुपरेको  दुनेपधेराका घाईते बाढी पीडित छमेन्द्र पुनले बताउनुभयो ।

‘बाढीले घरमा क्षति पुगेको छ, बारीमा त्रिपाल टागेर बस्दै आएका छौं ।’– पुनले भन्नुभयो–‘घरबाहिर बस्नुपर्ने पीडा त छदैँछ त्यसमापनि न विद्युत छ न मोबाइलको टावर छ ।’

बाढीका कारण भूजिखोला पहिलो, दोस्रो, तेस्रो, चौंथो र पाँचौ, नेपाने देउराली जलविद्युत, रूद्रताल लघु जलविद्युत आयोजना सहित ११ जलविद्युतमा क्षति पुगेको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बाढीग्रस्त क्षेत्रको अवलोकनपछि प्राइभेट रूपमा सञ्चालनमा आएका लघु जलविद्युत आयोजना समेत अवस्था हेरेर मर्मतमा सहयोग गर्ने आश्वासन समेत दिनुभएको थियो ।

विद्युत गृहमा बाढी पस्दा अन्धकारमा बस्नुपर्ने बाध्यताले बाढी पीडितलाई झनै समस्या भएको उनीहरूले गुनासो गरेका छन् ।

photo20200918baglung


सिर्जना पन्त