बाढीका कारण स्वास्थ्य सेवा प्रभावित

  ०७६ साउन १४ गते

लगातारको वर्षापछि आएको बाढी र डुबानका कारण रौतहटको स्वास्थ्य क्षेत्र प्रभावित बन्न पुगेको छ । बाढीका कारण जिल्लाका अधिकांश सरकारी स्वास्थ्य संस्थाहरू डुबानमा परेका कारण स्थानीयले प्राथमिक उपचार समेत पाएका छैनन् ।

माधवनारायण नगरपालिकाका-७ लौकाहा हेल्थपोष्टका सहइन्चार्ज नागेन्द्र पटेलले स्वास्थ्य संस्था डुबानमा परेका कारण स्थानीयले प्राथमिक उपचार पनि पाउन नसकेको बताए ।

राजदेवी नगरपालिकाका स्थानीयबासी शिवाजी सिंहले डुवानका कारण स्वास्थ्य संस्था जान समस्या परेको बताए ।

उनले भने-"जिल्लाका १८ ओटा स्थानीय तहमध्ये अधिकांश हेल्थपोष्ट, हेल्थसेन्टर, सामुदायिक स्वास्थ्य क्लिनिक, सरकारी अस्पताल, सहरी स्वास्थ्य क्लिनिक, बर्थिङ् सेन्टर, इशनाथ नगरपालिकाको हेल्थ सेन्टर डुबानमा पर्दा त्यहाँ सामान्य उपचार स्थानीयले पाउन सकेका छैनन् ।"

अहिले पनि इशानाथमा झण्डै २ सय घर डुबानमा छन् । सो क्षेत्रमा महामारी फैलन सक्ने हुनाले जिल्लाबाट चिकित्सक सहितको टोली मगाउन पहल भइरहेको जनाइएको छ ।

स्वास्थ्य कार्यालय गौरका निमित्त प्रमुख महेश साहका अनुसार उत्तरी भेग बाहेकका सबै नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरू डुबानमा परेका छन् ।

स्वास्थ्य कार्यालका सूचना अधिकारी इमराजुल खाँका अनुसार राजदेवी नगरपालिका अन्तर्गत बसन्तपुर, चण्डिया स्वास्थ्य चौकी, इशनाथ नगरपालिकाको बन्जराहा, औरैया स्वास्थ्य चौकीलगायत जिल्लाका ६० ओटा हेल्थपोष्ट, चार ओटा हेल्थ सेन्टर डुबानमा परेका कारण स्थानीय स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ ।

डुबानका कारण स्वास्थ्य संस्थाहरूमा राखिएको औषधि नष्ट भएको र भौतिक संरचनामा क्षति पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


कोपिला तिमलसिना