बाटोमा हिँडिरहेका स्वास्थ्यकर्मीमाथि कोरोना सर्ने भन्दै कुटपिट, घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ २० गते

शिखर नगरपालिका – ७ घर भई शिखर नगरपालिका – ९ स्थित दानकोट स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी २० वर्षीय रमेश कुवँरमाथि जेठ १८ गते सोही नगरपालिका – ७ बोगटाका  १९ वर्षीय रोशन खत्री, २० वर्षीय नबिन खत्री र २४ वर्षीय तेजबहादुर लुहारले आक्रमण गरी कुटपिट गरेको आरोपमा प्रहरीले जेठ २० गते गिरफ्तार गरेको छ ।

शिखर नगरपालिका – ७ स्थित लाटामाडौँ स्वास्थ्य चौकीबाट स्वास्थ्य सामग्री बोकेर दानकोट स्वास्थ्य चौकी जाँदै गरेको अवस्थामा आक्रमण गरी कुटपिट गरेको भन्दै जेठ १९ गते इलाका प्रहरी कार्यालय,तिनतालीमा पीडित पक्षले उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,डोटीका इन्स्पेक्टर कर्ण बोहराले बताउनु भयो ।

स्वास्थ्य सामग्री बोकेर स्वास्थ्य चौकी आइरहेको अवस्थामा गाउँको बाटो हिडेर कोरोना फैलाउने भन्दै द्धय खत्री र लुहारले कुटपिट गरेको शिखर नगरपालिका स्वास्थ्य इकाइ प्रमुख हरिष शाहले बताउनु भयो ।

कुटपिटबाट टाउकोमा गहिरो चोट परेपछि पीडित कुवँरको उपचारका लागि जेठ १८ गते राति नै डडेल्धुरा उपक्षेत्रिय  अस्पताल पठाइएको भए पनि डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको शिखर नगरपालिका स्वास्थ्य इकाइ प्रमुख शाहले बताउनु भयो ।

 


बाशुदेव जोशी