बाटोमा अलपत्र परेका पैदल मजदुरहरू तथा सर्वसाधाणहरूलाई विभिन्न जिल्लाको सिमानाबाट उद्धार

  ०७७ वैशाख ६ गते

तीनसाता भन्दा लामो समयको लकडाउनपछि समस्यामा परेका मजदुर तथा सर्वसाधारणहरू पैदलै हिडेर घर फर्कन थालेका छन् । यस क्रममा बाटोमा सवारी तथा खाना बस्नको अभावले अलपत्र परेका पैदल मजदुर तथा सर्वसाधरणहरूलाई स्थानीय तहहरू तथा स्थानीय सामाजिक संस्थाहरूले विभिन्न जिल्लाको सिमानाबाट उद्धार गरेका छन् ।

कोरोनाको सङ्क्रमण फैलन नदिन नेपाल सरकारले गत चैत ११ गतेबाट गरेको लकडाउनपछि समस्यामा परेकाहरू पैदलै हिडेर घरसम्मको दुरी पार गर्ने बाध्य भएका छन् । चितवन र धादिङ जिल्लाको सिमानामा पर्ने मौवा खोलामा अलपत्र परेका पैदल यात्रुहरूको वैशाख ५ गते उद्धार गरिएको चितवनबाट इन्सेक जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीले जानकारी दिनु भएको छ । अलपत्र पैदल यात्रुलाई ट्रकमा चढाइ साँझ पख देशका पायक पर्ने मुख्य शहरहरूमा छाडिदिन अनुरोध गर्दै खाजा र पानीको समेत व्यवस्था गरि पठाइएको इच्छाकामना गाउँपालिका चितवनकी अध्यक्ष गीता गुरुङले बताउनु भयो ।

झण्डै २ सय जना पैदल मजदुर तथा सर्वसाधरणको व्यवस्थापन गरिएको अध्यक्ष गीता गुरुङको भनाइ छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय र प्रहरीले समेत स्थानीय तहसँग समन्वय गरि पैदल यात्रुलाई गन्तव्यमा पठाएको चितवन प्रहरी प्रवत्ता डिएसपी एकनारायण कोइरालाले बताउनु भयो ।

यता रामेछाप र सोलुको सिमाना भएर बग्ने लिखु खोलामा दुगड ग्रुपले निर्माण गरिरहेका जलविद्युत आयोजनामा काम गर्न कामदारहरूलाई निर्माण कम्पनिले अलपत्र पारी छाडेपछि मजदुरहरू पैदल यात्रा गरी आफ्नो घर फर्कि रहेका छन् । यसरी पैदल फर्किएका मध्ये सोलुको राङदाबाट नवलपरासी बर्दघाट घर हिडेका ६ जनालाई रामेछाप उद्योग वाणिज्य सङ्घले एकरात खाने बस्ने व्यवस्था मिलाएको इन्सेक रामेछाप जिल्ला प्रतिनिधि नवराज घिमिरेले जानकारी दिनुभयो ।  उनीहरू वैशाख २ गते सोलुबाट पैदलमार्ग हुँदै वैशाख ४ गते साँझपख रामेछापको सदरमुकाम मन्थली आईपुगेका थिए ।

मजदुरहरूलाई रामेछाप उद्योग वाणिज्य सङ्घको भवनमा बास राखिएको थियो ।  उनीहरूलाई सम्बन्धित कम्पनिसँग समन्वय गरी कम्पनिले खाने बस्ने व्यवस्था मिलाउने गरी सोहि हाईड्रोपावरको कार्य क्षेत्रमा वैशाख ५ गते ना १ ज ३७०० सुमो मार्फत पठाइएको सङ्घ अध्यक्ष केशवप्रसाद घिमिरे बताउनु भयो ।  उनीहरूलाई रात र बिहानको खाने बस्नको व्यवस्था सङ्घले गरेको  थियो ।

मन्थली नगरपालिकोे सेलेघाट नाका हुँदै काठमाडौ र तराईबाट पैदल यात्रा गरी आउने र जानेहरूलाई सेलेघाटमा रामेछाप उद्योग वाणिज्य सङ्घलगायतका संस्थाहरूले बिस्कुट, चाउचाउ, पानीलगायतको खानेकुराको व्यवस्था गरेका छन् ।

यसैगरी इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार देशका विभिन्न स्थानबाट हिँडेर मकवानपुर आइपुगेका ५ सय ३३ जना पैदल यात्रीलाई उद्दार गरी जिल्लाको सीमासम्म यातायातको साधनमा गन्तव्य पठाइएको छ ।

वैशाख ६ गते मात्रै १ सय ६८ जनाको उद्दार गरिएको छ । पैदल हिँडेर आफ्नो घरसम्म जाने क्रममा हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुर उद्योग वाणिज्य सङ्घ र लायन्स क्लबको सहयोगमा उद्दार गरिएको हो । उहाँका अनुसार हाल जिल्लाभित्रै पैदलयात्रीहरूलाई निशुल्क उद्दार गरिएको छ । त्यस्तै दाङ, चितवनलगायत अन्य जिल्ला जानेहरूलाई भाडाका सवारीले दुबै जिल्लाको सिमानामा पु-याइदिने तथा अर्का जिल्लाका सामाजिक सङ्घ संस्थासँग समन्वय गर्ने कार्य भएको बताइएको छ ।

थाहा नगरपालिकाले लकडाउनको अवधिमा जङ्गलको बाटो भएर घर जाँदै गरेको १ सय १ जनाको उद्दार गरेको नगरपालिकाका मेयर लबशेर विष्टले जानकारी दिनुभयो ।

छिमेकी जिल्ला धादिङको धुनवेशीस्थित जीवनपुरमा रहेको इँटा भट्टाका कामदारहरू थाहा नगरपालिका–९, चित्लाङको जङ्गलको बाटो हुँदै घर जाँदै गर्दा उनीहरूको उद्धार गरिएको हो । चित्लाङका प्रहरी, जनप्रतिनिधि तथा गाउँलेहरूले उनीहरूको वैशाख ५ गते राति ८ बजे उद्धार गरेर वैशाख ६ गते  बिहान ट्रकमा राखेर बाराको पथलैयासम्म पु-याइदिएको स्थानीय महालक्ष्मी प्राविका शिक्षक राजेन्द्र बलामीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूलाई शुक्रबार रातको खाना खुवाएर नगरपालिकाको समन्वयमा सुरक्षित स्थानमा राखेर शनिबार बिहान तीन ओटा ट्रकमा राखेर पथलैया पु-याइएको हो ।

धादिङ जिल्लाबाट सर्लाही जिल्ला जान लागेका ८० जना मजदुरको वैशाख ६ गते उद्धार गरिएको छ । धादिङबाट पैदल चितवनसम्म आएका मजदुरहरूलाई उद्दार गरी सर्लाहीसम्म जान भाडाको सवारी व्यवस्था गरिएको हो । तीन ओटा ट्रकमा ल्याइएका उनीहरूलाई मकवानपुर प्रहरीले पनि सहजिकरण गरिदिएको थियो ।

यसैगरी इन्सेक ललितपुर जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार उपत्यका र आसपासका जिल्लाबाट मकवानपुर र तराईका विभिन्न जिल्लामा घरतर्फ जाँदै गर्दा अलपत्र परेका २ सय २६ जनालाई वैशाख ५ गते बागमती गाउँपालिका–४, प्युटारमा खाना र बासको व्यवस्था गरिएको छ ।

सुरक्षित रूपमा गन्तव्यतर्फ जान लागेका ती यात्रुहरू साँझपख प्युटार पुगेका थिए । महिला, बालबालिकासहितका यात्रुहरू अलपत्र परेको जानकारी पाएपछि धनडाँडा आधारभूत विद्यालय र स्थानीयको कुखुरा पालन गर्ने रित्तो खोरमा बासको व्यवस्था गरेको वडा अध्यक्ष नारायणबहादुर घलेले बताउनु भयो । आफूहरूले स्थानीय प्रहरीसँग समेत समन्वय गरी सुरक्षाको उपाय अवलम्वन गर्दै प्राथमिकताका साथ खानाको व्यवस्था गरी निःशुल्क रूपमा सुत्ने व्यवस्था गरेको वडा अध्यक्ष घलेले बताउनु भयो  ।

त्यस्तै महालक्ष्मी नगरपालिका–९, लामाटारमा वैशाख ५ गते दिउँसो आइपुगेका ४१ जना यात्रुहरूलाई दिउँसो खाजा, बेलुकी खाना र वैशाख ६ गते बिहान खाना खान दिएको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले बताउनु भयो । उनीहरू काभ्रे, सिन्धुपाल्चोक र पूर्वका विभिन्न जिल्लामा मजदुरी गर्दै आएकोमा लकडाउनको समय लम्बिदै जाँदा खाना अभाव भएकोले पश्चिमका जिल्लामा घर जान हिँडेको बताएको स्थानीय शशिधर पोखरेलले जानकारी दिनुभयो ।

त्यसै गरी गोदावरी नगरपालिका– ३ गोदावरीमा वैशाख ४ गते महानगरीय प्रहरी प्रभाग र स्थानीय बासिन्दाको पहलमा ३२ जनालाई वन तालिम केन्द्रको भवनमा राखी खाना खुवाउने र बस्ने व्यवस्था गरिएको वडा अध्यक्ष बालमुकुन्द घिमिरेले जानकारी दिनुभयो । उनीहरू काभ्रे जिल्लाको महाभारत गाँउपलिकाको सिंचाइ प्रोजेक्टमा कार्यरत मजदुरहरू थिए । नुवाकोट जिल्लाका १६ जना मजदुरहरूलाई नुवाकोटका सांसद बहादुर सिङ लामा र कैलाली जिल्लाका मजदुर १६ जनालाई सोही जिल्लाका सांसद झपट बहादुर रावललाई जिम्मा लगाइएको महानगरीय प्रहरी प्रभाग बाडेगाउँका इन्स्पेक्टर अरुण भट्टराईले बताउनु भयो ।

यसैगरी इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीका अनुसार उपत्यका छाडेर पूर्व नाकाहुदै विभिन्न जिल्लास्थित घर फर्कनेहरूको वैशाख ६ गतेदेखि भक्तपुर नाकामा उद्दार गर्न थालिएको छ ।

उपत्यका छाडेर विभिन्न जिल्लाका नागरिक घर फर्कने क्रममा सूर्य विनायक नगरपालिका ८ का वडाध्यक्ष किरण थापाको नेतृत्वमा वैशाख ५ गतेदेखि पैदल यात्रुको उद्धार थालिएको भक्तपुरका सिडिओ हुमकला पाण्डेले बताउनु भयो ।

चन्द्रागिरी नगरपालिकाले थानकोट नाकाबाट ३ सय जना पैदल यात्रुलाई मानवियताको नाताले उद्धार गरेको इन्सेक काठमाडाैँ जिल्ला प्रतिनिधि विमला पौडेलले बताउनु भयो ।  नगरपालिकाले दाङ, सिन्धुली, मकवानपुरलगायतको जिल्लामा फर्केकाहरूका लागि उद्धार गरेको हो ।

यसैगरी सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट बचाउन गरेको  बन्दाबन्दी (लकडाउन) पछि पैदल घर हिडेका मजदुरहरूलाई धादिङका स्थानीय तह तथा  सामाजिक कार्यकर्ताहरूले खाना र खाजाको व्यवस्था गरेका छन् । खाना खुवाएपछि उनिहरूलाई नेपाल प्रहरी र ट्राफिक प्रहरीको सहयोगमा घरतर्फ जानका लागि खाद्यान्न लिन हिडेका सवारी साधनहरूमा चढाएर घर तर्फ पठाइएको इन्सेक धादिङ जिल्ला प्रतिनिधि सिताराम अधिकारीले बताउनु भयो ।

धादिङका विभिन्न स्थानलगायत काठमाडौँ, ललितपुर, भक्तपुरबाट आफ्नो घर हिडेका मजदुरहरू समस्यामा परेपछि सहयोग गरिएको हो । धादिङ प्रवेशपछि नौबिसेमा स्थानीय सामाजिक कार्यकर्ताहरूको सक्रियतामा पैदलयात्री र उनीहरूको सेवामा खटिने सुरक्षाकर्मीहरूलाई फलफूल खुवाएको छ ।

प्रधानमन्त्री केपि ओलीको निर्देशनपछि धादिङको थाक्रे गाउँपालिकाले स्थानीय युवाहरूको सक्रियतामा महादेब बेसीमा ५ सय मजदुरलाई खाजा र पानी खुवाएको छ । गजुरी गाउँपालिकाले आदमघाटमा १ सय ५० मजदुरलाई तथा ३ सयजना पैदलयात्रीलाई खाना, खाजा खुवाएको आदमघाटका विष्णु श्रेष्ठले जानकारी दिनुभयो ।

गजुरी बजारमा पनि गजुरी गाउँपालिकाले एक साता अघिदेखि पैदलयात्री मजदुरहरूलाई खाजाको व्यवस्था गर्दै आएको थियो । यसबाट करिब ४ सय मानिसले खाजा खाएको गाउँपालिका उपाध्यक्ष सीता ढुङ्गानाले जानकारी दिनुभयो । गल्छी गाउँपालिका ८ मा पैदलयात्री मजदुरलाई वडा अध्यक्ष हरी खतिवडाको नेतृतव्मा खाना खाने बास बस्ने र खाजा खाने वयवस्था मिलाएको छ र यहा अहिलेसम्म ५० जनालाई खाना खुवाईएको छ ।

यस्तै सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका स्थायी घरभई काठमाडाैँमा विभिन्न पेशा व्यवसाय गरी लकडाउनको अवधिमा घर फर्कन नपाएर अलपत्र परेका व्यक्तिहरूलाई सुरक्षित गाउँ ल्याउन त्रिपुरासुन्दरी गाउँपालिकाले तयारी गरेको गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले बताउनु भयो । अध्यक्ष श्रेष्ठका अनुसार गाउँपालिका भित्रका नागरिकहरुको लगत सङ्कलन गरिरहेको र छिटै गाउँ ल्याउन तयारी गरिएको इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबाबु धितालले जानकारी दिनुभयो ।

यस्तै इन्सेक सिन्धुली जिल्ला प्रतिनिधि बिमला पाण्डेका अनुसार विपी राजमार्ग र मध्यपहाडी राजमार्ग हुदै पूर्वी नेपाल जाने पैदल यात्रीहरूको सिन्धुलीका स्थानीय तहले दैनिक उद्धार गरिरहेका छन् । सिन्धुलीको बाटो हुदै आउने मजदुरहरूको सिन्धुलीका स्थानीय तहले उनीहरूलाई खाना तथा सवारीको व्यवस्था गरि उद्धार गरिरहेका छन् ।
काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे हुदै आएका पैदल यात्रुको उद्धार गर्नेमा सुनकोशी गाउँपालिका अग्रपंक्तिमा छ । काभ्रेसँग सिमाना जोडिएको यो गाउँपालिकाको बाटो भएर लकडाउन अवधिमा करिब ८ हजार नागरिक आएको सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले बताउनु भयो । उहाँका अनुसार दैनिक २ सय ५० देखि ३ सय जनासम्मको उद्धार गाउँपालिकाले गरिरहेको छ ।
सुनकोशी गाउँपालिकाले गोलञ्जोरको खुर्कोटसम्म यातायात व्यवस्था गरेको छ । यस्तै गोलञ्जोर गाउँपालिकाले पूर्वी पहाड जानेलाई फिक्कल गाउँपालिकाको सिमानासम्म र पूर्वी तराई जानेलाई गोलञ्जोर र कमलामाई नगरपालिकाको समन्वयमा वर्दिबाससम्म पठाईरहेको ती स्थानीय तहले जनाएका छन ।
कमलामाई नगरपालिकाले खुर्कोटबाट बर्दिबाससम्मका लागि नगरपालिकाका नीजि विद्यालयका बसलाई प्रयोग गरिरहेको छ ।
फिक्कलले स्थानीय सवारी साधनहरूलाई भाडामा लिएर वा गाउँपालिकाकै गाडी प्रयोग गरेर गन्तव्यमा पुराएको गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले बताउनु भयो ।
स्थानीय तहहरूसँगै स्थानीय क्लबहरू, व्यवसायीहरू, नागरिकहरूले समेत सहयोगी भूमिका खेलेका छन् । यस्तै मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, दुधौली नगरपालिकाले आफ्ना स्थानीय तहमा आउने नागरिकहरूको उद्धार गरिरहेको जनाएका छन ।
यसैगरी काभ्रेको पनौती नगरपालिकाका मेयर भिमप्रसाद न्यौपानले ३४ जना पैदल यात्रीलाई सुरक्षित ढङ्गले उनीहरूको गन्तव्यमा
पु-याइ दिनुभएको इन्सेक काभ्रे जिल्ला प्रतिनिधि हिरामान तामाङले जानकारी दिनुभएकाे छ ।
सिन्धुलीको गोल्जोर गाउँपालिकाका उनीहरू काठमाडाैँबाट हिड्दै वैशाख ५ गते साँझ कुशादेवी आइपुगेका थिए । साँझ मेयर न्यौपानेकै समन्वयमा वडा–३ डिहीका स्थानीयले उनीहरूलाई खानपानको व्यवस्था गरेका थिए । मेयर न्यौपानेले सिन्धुलीको गोल्जोर गाउँपालिकासँग समन्वय गरेर वैशाख ६ गते बिहानै गाडी मार्फत उनीहरूलाई गन्तव्यमा पु-याइदिनुभएको हो ।
उनीहरू ललितपुरको लाकुरी भञ्ज्याङ नाका हुदैँ कुशादेवी आइपुगेका थिए । महिला तथा बालबालिकाहरू हिड्दै आफ्नो गन्तब्य तय गरेको थिए ।


इन्सेक बागमती प्रदेश कार्यालय हेटाैँडा