बाजुरा जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव, कार्यालय सहयोगीले गर्छन एक्सरे

  ०७४ पुस २८ गते

जिल्ला अस्पताल बाजुरामा स्वास्थ्यकर्मीको अभाव रहेकाले कार्यालय सहयोगीले १५ दिनदेखि बिरामीको एक्सरे गर्ने गरेका छन् । एक्सरे गर्ने कर्मचारी घर बिदामा गएपछि कार्यालय सहयोगीले दिल विष्टले एक्सरे मेशिन सञ्चाल गर्दै आएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत रेडियोग्राफर बोलराज आचार्य घर बिदामा गएपछि कार्यालय सहयोगी विष्टले मेशिन चलाउने गरेका हुन् । डार्करूम असिटेण्ट प्रभा भण्डारीले रेडियोग्राफरमा नाम निकालेर दार्चुला गएपछि उक्त पद एक महिनादेखि रिक्त भएको छ । एकजना मात्र रेडियोग्राफर आर्चाय पनि घर बिदामा गएपछि विष्टले एक्सरे गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा रूपचन्द्र विश्वकर्माले बताए ।

'बोलराज आर्चय घरमा जरूरी काम भएर बिदामा गएका हुन् । एक्सरे गर्न कार्यालय सहयोगी विष्टलाई सिकाएर गएका हुन् ।'-डा. विश्वकर्माले भने-'पहिला दुई जना कर्मचारी हुँदा समस्या थिएन । डार्करूम असिटेण्ट प्रभा भण्डारीले एक तह माथि नाम निकालेर अर्को जिल्ला गएपछि समस्या आएको छ ।'

'कार्यालय सहयोगीलाई खासै एक्सरे गर्न आउँदैन । एकै जनाको पनि ४-५ पटक एक्सरे गर्न लगाउने गरेका छौँ ।'-डा. दुर्गा महर्जनले भने-'कार्यालय सहयोगीले गर्दा बिरामीको रोग पत्ता लगाउन र उपचार गर्न समस्या छ ।'

जिल्ला अस्पतालमा दैनिक १५ देखि २० जनाको एक्सरे कार्यालय सहयोगीले गर्दै आएका छन् । जटिल खाले रोगको एक्सरे भने नहुने गरेको महर्जनले बताए ।

विष्टले जटिल खालको भन्दा सामान्य खालको एक्सरे मात्र गर्दै आएको जनस्वाथ्य अधिकृत रमेश कुँवरले बताए । उनले लोकसेवा अयोगलाई एकजना रिक्त भएको जानकारी लेखि पठाएको बताए । एकजना मात्र हुँदा केही काम परेर बिदा बस्दा समस्या हुने कुँवरको भनाई छ ।


पदम सिंह