बागलुङका २५ मध्ये आठ मतदानस्थल अति संवेदनशील, १७ संवेदशील

  ०७६ कात्तिक २३ गते

मङ्सिर १४ गते हुने प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोकेका २५ मतदानस्थलमध्ये बागलुङका आठ मतदानस्थल अति संवेदनशील रहेका छन् ।

जिल्लाको भौगोलिक अवस्था, सरकार विरोधी शक्तिका गतिविधि, दलिय प्रतिस्पर्धा र यस अघिका निर्वाचनमा देखिएका घटनालाई आधार मानेर अति संवेशनशील, संवेदनशील र सामान्य गरी मदतान स्थललाई तीन भागमा विभाजन गरिएकोमा एउटा पनि मतदानस्थल सामान्य नरहेको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । क्षेत्रीका अनुसार २५ मतदानस्थलमध्ये १७ ओटा मतदानस्थल संवेदनशील रहेका छन् ।

उपनिर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तीन घेरामा सुरक्षा दिने क्षेत्रीले बताए । ‘उपनिर्वाचन हुँदै गरेका स्थानमा दलीय अस्वस्थ्य प्रतिस्पर्धाका कारणले पनि चुनौतीपूर्ण मानिन्छ ।’– क्षेत्रीले भने–‘भौगोलिक विकटता, यातायातका साधनको पहुँच नपुग्नु जस्ता कारणले सुरक्षा चुनौती थपिन सक्छ । तर, हामीहरू सचेत छौँ ।’

प्रदेशसभा सदस्यमा निर्वाचित टेकबहादुर घर्तीको निधनपछि खाली भएको बागलुङ क्षेत्र नं २ (ख) र बडिगाड गाउँपालिका–२ मा निर्वाचित अध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि खाली भएको वडाध्यक्ष पदमा हुन लागेको निर्वाचनमा ३६ हजार ९ सय २६ मतदाताको नाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।


सिर्जना पन्त