मानव अधिकार प्रत्याभूतिको लागि आधार तयार : मुख्यमन्त्री पाैडेल

  ०७६ माघ २९ गते

1-3बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले दुई वर्षको अवधिमा प्रदेश सरकारले आधारभूत मानव अधिकार प्रत्याभूतिको लागि आवश्यक आधारहरू लगभग पुरा गरेको बताउनु भएको छ । बागमती प्रदेश सरकारले माघ २९ गते सरकार गठन भएको दोस्रो वार्षिकोत्सव मनाउन आयोजित विशेष कार्यक्रममा मुख्य मन्त्री पौडेलले सो कुरा बताउनु भएको हो ।

प्रदेश सरकारले प्रदेश प्रुमख विष्णुप्रसाद प्रसाईंको प्रमुख आतिथ्यमा सरकार गठन भएको दुई वर्ष पुरा भएको अवसरमा कार्यक्रमको आयोजना गरेकाे थियो ।

कार्यक्रममा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले 'प्रदेश सरकारको दुई वर्ष' नामक पुस्तिका विमोचन गर्नुभएको थियो । स्मारीकामा प्रदेश सरकारले विगत दुई वर्षमा गरेको उल्लेख्य कार्य प्रगतिहरू र आगामी तीन वर्षको कार्यदिशा समेटिएको छ ।

मुख्यमन्त्री पौडेलले यस बीचमा मानव अधिकारमैत्री प्रदेश बनाउने अभियानको साथ प्रदेश सरकार लागिपरेकाे र मानव अधिकार प्रत्याभुतका लागि आधार तयार भएकाे बताउनु भएकाे छ ।

स्थानीय तहमा कानुनी सहजकर्ता नियुक्त गरी विपन्न जनतालाई सरकारी कार्यालयहरुबाट सेवा लिन सहयोग पुर्याइएको स्मारीकामा उल्लेख छ । प्रत्येक स्थानीय तहका कम्तिमा एक सरकारी विद्यालयमा एकजनाका दरले १ सय २१ जना विद्यालय नर्सको व्यवस्था गरिएको, मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत सबै स्थानीयतहका विपन्न, अल्पसङ्ख्यक तथा लोपोन्मुख जाति, शहीद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइते महिला स्वास्थ्य स्वयम् सेविका समेत १ लाख जनाको स्वास्थ्य परीक्षण गर्ने गरी कार्यक्रम सञ्चालनमा ल्याएको विमोचन गरिएको पुस्तिकामा उल्लेख गरिएको छ ।

यस्तै बेचबिखन र हिंसामा परेका महिलाको उद्धार गर्न भक्तपुरमा पुनर्स्थापना केन्द्र सञ्चालनमा ल्याइएको उहाँले बताउनु भयो । यसैगरी प्रदेशमा मकवानपुर जिल्ला र भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडक मानव मुक्त घोषणा गरिएको छ । प्रदेश लोक सेवा आयोग ऐन पारित भएको र सो अनुसार प्रदेश लोक सेवा आयोग गठन भई आयोगले कार्य प्रारम्भ गरेको, प्रदेश नीति तथा योजना आयोगको गठन गरिएको, प्रदेश अन्तर्गत ४५ ओटा ऐन निर्माण गरिएको, प्रदेश सरकारको आवधिक योजनाको अन्तिम मस्यौदा तयार भएको छ ।


पुष्पराज अधिकारी