बागमती प्रदेशमा ३ सय ३७ आइसोलेशन बेड तयार

  ०७६ चैत १६ गते

स्थानीय तहसँगको सहकार्यमा बागमती प्रदेश सरकारले ३ सय ३७ ओटा आईसोलेसन बेड तयार पारेको छ । सरकारले प्रदेशका विभिन्न जिल्लामा स्थानीय तहसँगको सहकार्यमा कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेशन बेड तयार पारेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सङ्क्रमण फैलिएको आशङ्कामा उपचारमा आएकाको उपचारलाई उच्च सतर्कताका साथ सरकारले काम गरी रहेको मन्त्रालयका मन्त्री युवराज दुलालले बताउनु भयो । सरकारले पहिलो चरणमा हेटौंडा, चितवन, भक्तपुरमा आइसोलेशनबेड तयार गरेर काम अघि बढाएको उहाँले जानकारी दिनुभयो । पहिलो चरणमा तयार भएका बेडमा बिरामीको सङ्ख्याको आधारमा नयाँ बेडको व्यवस्थापन गर्ने तयारी सरकारले गरेको छ ।
सरकारले अहिले तयार पारेका बेडलाई विश्व स्वास्थ्थ सङ्गठनले तयार पारेको न्युनतम मापदण्डलाई लागु गर्ने मन्त्री दुलालले जानकारी दिनुभयो । अहिले भएका आइसोलेशनको सङ्ख्या नबढाई मापदण्डमा ध्यान दिने मन्त्रालयले जनाएको छ । सरकारले अहिले देश र विदेशबाट आएकाको सङ्ख्या खोजी गरी क्यारेन्टाइनमा राखेर स्वास्थ्य परिक्षण गराउँदै सङ्क्रमण फैलन नदिनका लागि काम गरीरहेको उहाँले जानकारी दिनुभयो ।
सरकारले हेटौंडा, चितवन र धुलिखेलमा रहेको ल्याबलाई सञ्चालन गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ ।
सङ्क्रमण फैलन नदिनका लागि सरकारले सङ्घीय सरकारले गरेको लकडाउनलाई कार्यान्वयन गर्न समन्वयकारी भूमिका निर्वाह गरेको मन्त्री दुलालले बताउनु भयो । उहाँका अनुसार बागमती प्रदेशमा कोरोना सङ्क्रमणको आशङ्कामा २६ जनाको नमुना सङ्कलन र परीक्षण गरीएकोमा २५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरण पठाउन सुरु गरेको मन्त्रालयले जनाएको छ । पहिलो चरणमा आइपुगेका सामग्री चितवनबाट धादिङ हुदै नुवाकोट तर्फ र सिन्धुलीबाट रामेछाप हुँदै काभ्रेसम्म बाड्नका लागि टोलि परिचालन गरेको बताइएको छ ।
मन्त्रालयले १ सय ७५ ओटा पिपिई प्रदेशका सरकारी अस्पताललाई उपलब्ध गराइसकेको छ भने ४ सय ओटा बाड्ने तयारीमा रहेको मन्त्रालयले जनाउको छ । मन्त्रालयले पिपिइ थर्ममिटर माक्स सहितका सर्जिकल सामग्री जिल्ला अस्पतालमा लैजान टोली गठन गरेर परिचालन गरीसकेको बताइएको छ ।


पुष्पराज अधिकारी