बाँफिकोटको खनटाकुरामा खानेपानीको अभाव हुँदा स्थानीय मर्कामा

  ०७७ कात्तिक ३० गते

बाँफिकोट गाउँपालिका–३ खनटाकुरालगायतका स्थानमा खानेपानीको समस्या हुँदा स्थानीय मर्कामा परेका छन् ।

यस क्षेत्रमा निर्माणाधीन खानेपानी आयोजनाहरूले पूर्णता नपाएपछि यहाँका करिब ७० घर परिवार खानेपानीको समस्याका कारण मर्कामा परेका हुन् ।

वडा नम्बर ३ को खनटाकुराका साथै तल्लो दाब्ने, माथिल्लो दाब्ने, कोलचौर र फेरामा खानेपानीको अभाव छ ।

गाउँमा खानेपानीको अभावले गर्दा पशुपंछिलाई दिने र पिउने पानीको निकै समस्याले आफूहरूले सास्ती खेप्नुपरेको स्थानीय समिर देवकोटाले दुःखेसो पोख्नु भयो ।

घरघरमा खानेपानी आउला र समस्या समाधान होला भन्दै स्थानीय बासिन्दाले १५/१५ दिनसम्म श्रमदान समेत गरे तर पनि खानेपानीको समस्या टरेको छैन ।

नेपाल सरकारले एक घर एक धाराको अवधारणा लिएको छ । यि पाँच ओटा टोलका ७० घर परिवारका लागि खानेपानीको धारा भने एउटा पनि छैन ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुकुम पश्चिमको ७० लाख रुपियाँ बजेटमा सञ्चालन भइरहेको छिप्रा खोला भङ्गफेरा खनटाकुरा कोलचौर खानेपानी आयोजना सम्पन्न भयो भने खानेपानीको समस्या टर्ने स्थानीयले अपेक्षा गरेका छन् ।

स्थानीय खानेपानी उपभोक्ता समितिका अनुसार यो आयोजना पनि बजेट अभावकै कारण रोकिएको छ । योजना निर्माणमा स्थानीयको पनि सहभागिता हुनुपर्ने र त्यसो हुँदा सबैका लागि खानेपानीको समस्या हल हुने गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीको भनाइ छ ।


मनिषा केसी