बहुविवाह र बालविवाह गर्ने व्यक्ति उपभोक्ता समितिमा अयोग्य !

  ०७५ पुस १८ गते

मेरिङ्देन गाउँपालिकाले उपभोक्ता समिति गठनसम्बन्धी मापदण्ड तयार गरेको छ । उपभोक्ता समितिको पदाधिकारी तथा सदस्यमा बहुविवाह र बालविवाह गरेकाहरू बस्न नपाउने मापदण्ड तयार गरेको हो ।

गाउँ कार्यपालिका तथा गाउँसभाका बहालवाला पदाधिकारी, राजनीतिक दलको प्रतिनिधिको रूपमा गाउँपालिका तथा वडाको कुनै पनि कार्यालयमा प्रतिनिधित्व गर्ने व्यक्ति र बहालवाला सरकारी कर्मचारीदेखि निर्माण व्यवसायीसमेत समितिमा बस्न नपाउने मेरिङदेन गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत भिमकुमार बस्नेतले बताए ।

सरकारी पेश्की वा बेरूजु फस्र्यौट नगरेका व्यक्तिहरू, फौजदारी अभियोगमा कसुरदार ठहरिएको वा सो प्रकृतिको मुद्दा न्यायिक वा अर्धन्यायिक निकायमा विचाराधिन रहेको व्यक्ति समेत समितिमा बस्न नपाउने प्रमूख प्रशासकीय अधिकृत बस्नेतले जनाकारी दिए ।

योजना छिटो, छरितो र पारदर्शी रूपमा सञ्चालन तथा निर्माण गर्न मापदण्ड बनाउनुपरेको गाउँपालिकाले जनाएको छ ।

स्थानीय सञ्चार माध्यमबाट सूचना प्रकाशन तथा प्रसारण गरी समिति गठनसम्बन्धी प्रावधान बारे जानकारी गराएको छ ।

प्रमूख प्रशासकीय अधिकृत बस्नेतले भने–‘मापदण्ड कार्यान्वय गर्न गाउँपालिका प्रतिबद्ध छ । कँहि कतै उल्लङ्घन गरेको पाइए गाउँपालिका नियम बमोजिम अगाडि बढ्छ ।’


देवराज गुरूङ