बहुविवाह घटनामा कैद तोकिएका फरार अभियुक्त प्रहरी हिरासतमा

  ०७३ मङ्सिर २ गते

बहुविवाह मुद्दामा अदालतबाट सजाय तोकीएका फरार रहेका फत्तेपुर गाविस-२ का मो. मन्सुरीलाई प्रहरीले मङ्सिर १ गते गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको छ ।

फत्तेपुर प्रहरी चौकीबाट खटिएको टोलीले अदालतबाट एक महिना कैद र दुई हजार जरिबाना सजाय सुनाइएका फरार मन्सुरीलाई गिरफ्तार गरिएको जनाएको छ ।

जिल्ला अदालतले ०५७ जेठ ३० गते मन्सुरीलाई एक महिना कैद र दुई हजार जरिवाना तथा उनकी कान्छी पत्नी सीतादेवी गुप्ता मन्सुरीलाई दुई हजार जरिबानाको फैसला गरेको थियो ।

कारागार चलानका लागि गिरफ्तार मन्सुरीलाई जिल्ला अदालतमा मङ्सिर १ र २ गते बुझाइएकोमा अदालतमा फैसलाको मिसिल फेला नपरेपछि उनलाई इलाका प्रहरी कार्यालय कञ्चनरूपमा फिर्ता पठाइएको अदालतका शाखा अधिकृत हरीप्रसाद रेग्मीले बताए ।


मनोहरकुमार पोखरेल