बहुविवाह गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

  ०७३ चैत १० गते

दुल्लू नपा-११ सिस्ने टोलका ३३ वर्षीय कलम भण्डारी र गोरखा जिल्ला सिरानचोक गाउँपालिका-८ जौबारीकी २४ वर्षीया बिना जैसीलाई बहुविवाहको आरोपमा दैलेख जिल्ला अदालतले जनही २ वर्ष ६ महिना कैद र २०-२० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।

आरोपित कलमकी पत्नी सीता भण्डारीले प्रहरी समक्ष गत असोज ३० गते आरोपितद्वयले साउन ३० गते विवाह गरेको आरोपमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान गरी अदालत पेश गरेकोमा अदालतले ०७३ चैत १० गते यस्तो फैसला सुनाएको जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिए ।

मुलुकी ऐनको विवाहवारी महलमा बहुविवाह गर्नेलाई बढीमा तीन वर्षसम्म कैद गर्न सक्ने कानुनी प्रावधान छ ।

पीडितले प्रहरीमा उजुरी गरेपछि घरमा बस्ने वातावरण नभएको भन्दै पीडित महिला दुल्लू नपा-६ छिउडी गाउँस्थित माइतीघरमा बस्दै आएकी छन् ।


अमर सुनार