बहुविवाह गरेको कसुरमा १ वर्षकैद र ५ हजार जरिबानाको फैसला

  ०७४ पुस २० गते

बहुविवाहको आरोपमा धरौटीमा रिहा भएका रौतामाई गाउँपालिका-१ लाफागाउँका २८ वर्षीय ठाकुरकुमार राउत र २३ वर्षीया गोमा थापालाई जिल्ला अदालतले पुस २० गते कसुरदार ठहर गर्दै १ वर्षकैद र ५/५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।

न्यायाधीश तिर्जराज केसीको इजालासले दुवैको हकमा यस्तो फैसला सुनाएको हो । राउतले २५ वर्षीया जेठी पत्नी ललिमाया कार्की घरमा हुँदाहुँदै थापासँग ०७३ माघ २६ गते घरमा भित्र्याएका थिए ।

पीडित महिलाले ०७३ फागुन ८ गते जिल्ला प्रहरी कार्यालय बोक्सेमा न्यायको माग गर्दै उजुरी दिएकी थिइन् ।

पीडितको उजुरीपछि फागुन ८ गते नै प्रहरीले गिरफ्तार गरी अदालत पेश गरेकोमा आरोपितद्वयलाई जिल्ला अदालतले ०७३ चैत ४ गते जनही ५२ हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।


भरत खड्का