बहुविवाह गरेको कसुरमा कैदको फैसला

  ०७३ फागुन ३ गते

बहुविवाह गररेको कसुरमा गौरीपुर गाविस-५ का ३० वर्षीय गणेश मण्डल र एकराही गाविस-५ की १८ वर्षीया रिना मण्डललाई जिल्ला अदालतले फागुन २ गते जनही एक वर्ष कैद र ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।

न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले सो फैसला गरेको सरकारी वकिल मनोज आचार्यले बताए ।

गौरीपुर गाविस-५ की २७ वर्षीया निर्मलादेवी मण्डलले वैशाख १ गते आरोपितद्वयले बहुविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा वैशाख २१ गते उजुरी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाले आरोपितद्वयलाई वैशाख २३ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो । जिल्ला अदालतले आरोपितहरूलाई जनही ३५ हजार धरौटीमा जेठ ११ गते  रिहा गर्ने आदेश दिएको थियो ।

त्यसैगरी बहुविवाह गरेको कसुरमा लहान नपा-१८ का ४२ वर्षीय मोहमद हासिम मियालाई जिल्ला अदालतले एक वर्ष कैद र ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।

न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले फागुन ३ गते सो फैसला गरेको सरकारी वकिल मनोज आचार्यले बताए । उनका अनुसार अदालतले सोही घटनाकी आरोपित भारत फुलपरासकी सवाना खातुनलाई सफाई दिने फैसला गरेको छ ।

लहान नपा- १८ की ३५ वर्षीया समिना खातुनले आरोपितद्वयले ०७२ पुस २६ गते बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा पुस ३० गते उजुरी दिएकी थिइन् ।

इलाका प्रहरी कार्यालय लहानले आरोपित हासिम मियालाई ०७२ माघ १ गते गिरफतार गरेको थियो । जिल्ला अदालत सिरहाले ०७२ माघ २० गते आरोपितलाई ४० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।


दुर्गा परियार