बहुविवाह गरेको कसुरमा एक बर्षकैदको फैसला

  ०७३ मङ्सिर २० गते

बहुविवाहको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका त्रियुगा नपा-१३ का ३१ वर्षीय मेघबहादुर मगरलाई जिल्ला अदालतले मङ्सिर २० गते एक वर्ष कैद र ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।

न्यायाधीश राजकुमार कोइरालाको इजालासले मगरलाई दोषी ठहर गर्दै यस्तो फैसला सुनाएको हो । अर्का आरोपित इलामा झोलुङ्गा गाविस-७ की २५ वर्षीया सिमा भुजेललाई सोही फैसलाले सफाई दिएको छ ।

मगरकी २७ वर्षीया जेठी पत्नी शर्मिलाकुमारी मगरले ०७२ माघ ७ गते जिल्ला अदालतमा कारबाहीको माग गर्दै दिएको मुद्दाको आधारमा पति मेघबहादुरलाई कारबाही भएको अदालतले जनाएको छ ।

पीडितले आफू हुँदाहुँदै पतिले ०७२ मङ्सिर १४ गते अर्को विवाह गरेको भन्दै ०७२ पुस १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।


भरत खड्का