बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

  ०७४ असार २९ गते

छिन्नमस्ता गाउँपालिका-३ गोबिन्दपुरकी २४ वर्षीया फतमा खातुनका पति २५ वर्षीय अफजल मियाँलाई जिल्ला अदालतले असार २९ गते एक वर्षकैद र पाँच हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।

न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले बहुविवाह गरेको आरोपमा अफजललाई कैद र जरिबानाको फैसला गरेको अदालतले जनाएको छ । आरोपित अफजलले जेठी पत्नीसँग सम्बन्ध विच्छेद भइसकेको भनेकाले दोस्रो विवाह गरेको बयान दिएकी आरोपित कान्छी पत्नी २१ वर्षीया हमिदा खातुनलाई भने अदालतले सफाई दिने फैसला गरेको छ ।

जिल्ला अदालतको आदेशमा अफजल माघ २५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा र हमीदा ५ हजार रुपियाँ धरौटी राखी तारेखमा रिहा भएकी थिइन् ।

आरोपित अफजलले ०७३ पुस २२ गते मोरङको रङ्गेली नपा-७ की २१ वर्षीया हमीदा खातुनसँग दोस्रो विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा ०७३ पुस २८ गते जेठी पत्नीले उजुरी दिएकी थिइन् । प्रहरीले बहुविवाहको मुद्दा दर्ता गर्दै पुस २९ गते आरोपितहरूलाई गिरफ्तार गरेको थियो ।

सामाजिक परम्पराअनुसार ०६७ सालमा विवाह गरेकी जेठी पत्नीतर्फ सन्तान नभएको दोष लगाउँदै बहुविवाह गरेका आरोपित अफजलले कुटपिट गरेर घरनिकाला गरेपछि अलपत्र परेको पीडितले बताइन् ।


मनोहरकुमार पोखरेल