बहुविवाहमा उजुरी गर्ने महिला माइतीको शरण लिन बाध्य !

  ०७६ फागुन २५ गते

महाबु गाउँपालिका–४ रानीवनकी २६ वर्षीया डीलाकुमारी सिजालीको २७ वर्षीय पति छविलाल बलामीसँग विवाह चार वर्ष अघि भएको थियो ।

उनका पतिले महाबु गाउँपालिका–३ सुवाकोटकी २१ वर्षीया रबि बुचामगरसँग ०७३ फागुन १८ गते बहुविवाह गरे । डिलाले १२ दिनपछि फागुन ३० गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिनुभयो ।

प्रहरीले छविलाललाई ०७३ चैत ३ गते गिरफ्तार गरी ल्यायो, राजनीतिक दवावमा मुद्दा दर्ता गर्न दिइएन । त्यसबेला डिला घर जान पाउनुपर्ने विषयमा समुदायका अगुवाहरुले चासो राखेनन् । अहिले छविलाल र रबि घरजम गरेका छन्, डिला चामुण्डाबिन्द्रासैनी नपा–२ चाल्ने चौतारास्थित माइतीमा आश्रय लिइराख्नुभएको छ ।

दुल्लू नपा–१३ मालिकाकी २३ वर्षीया गौरा कुमाल घरमा हुदाहुँदै २६ वर्षीय पति सुरज कुमालले दुल्लू नपा–५ छिउडीकी १९ वर्षीया सरस्वती बिकलाई ०७५ कात्तिक १६ गते दोश्रो पत्नीको रुपमा भित्र्याए । यो विषयमा गौराले कात्तिक २७ गते बहुविवाहको उजुरी दिनुभयो ।

मुद्दा चलेपछि घरमा पारिवारजनबाट असहज भएका कारण दुई छोरीसहित अहिले भैरबी गाउँपालिका–४ भैरीस्थित माइतीमा बस्दै आउनुभएको छ ।

घरमा ३५ वर्षीया पत्नी भविकला मगर घरमा हुँदै बहुविवाह गरेका भनेर गुराँस गाउँपालिका–७ ओखडेनीका ३६ वर्षीय मानबहादुर मगरले ०७५ फागुन १९ गते सोही ठाउँकी ३४ वर्षीया तुली रोका बिरुद्ध भविकलाले फागुन २५ गते बहुविवाहको उजुरी गर्नुभयो ।

उजुरी अदालत पुग्यो अनि मानबहादुरलाई १ वर्ष कैद र १० हजार जरिवाना तर तुलीले घरमा सौता छ भन्ने थाहा नपाई आएकी भन्ने बयानको आधारमा सफाई पाइन । तुलीले ढाटिन्, अदालतले उनकै कुरा पत्यायो । मानबहादुरले कैद भुक्तान गरेर अहिले तुलीसंगै घरमा गई बसेका छन् ।

भविकला मानबहादुरसँगको बैवाहिक सम्वन्धबाट जन्मेका दुई छोरा र एक छोरीको पालनपोषण र शिक्षादीक्षा समेत सुर्खेतको वीरेन्द्रनगरपालिका–११ गाग्रेतालस्थित माइतीको भार बन्नु परेको छ । कानूनले बहुविवाह गर्ने महिलाको विवाह दर्ता हुदैन भन्ने सुन्नुभएकी भविकला आफ्ना पति र सौताले कानूनलाई चुनौती दिएको बताउनुहुन्छ ।

माथि उल्लेखित घटनाहरु अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को नेपाल मानव अधिकार वर्ष पुस्तकमा सन् २०१७, २०१८ र २०१९ अवधिका एक–एक वटा प्रतिनिधि घटना ह्न् । वर्ष पुस्तकमा छापिएका बहुविवाहकै घटना केलाउँदा २०१७ मा नौ वटा, २०१८ मा १७ र २०१९ मा १८ वटा बहुविवाहका घटना अभिलेखीकरण भएका छन् ।

इन्सेकको जानकारीमा आएका मात्र अभिलेखीकरणमा परेका यी ४४ ओटा सबै घटना बारे इन्सेक जिल्ला प्रतिनिधिले गरेको खोजविनमा बहुविवाह उजुरी दिने सबै महिलाहरु सबैजसो माइतीको संरक्षणमा बसेका छन् । भैरवी गाउँपालिका–४ गडाजिउलाकी डम्वरकुमारी रावत बाहेक हिंसा पीडित महिला सबैजसो उजुरी गरेपछि घरबाट निकालिएका छन् ।

२०७४ चैत ९ गते गुप्ताङ्गमा प्लाष्टिक पाइपले घोचेर मराणासन्न बनाएको घटनामा परेको उजुरीमा अदालतले घरेलु हिंसा र ज्यानमार्ने उद्योग समेतमा ५ वर्ष कैद तोके अनुसार उहाँका पति सूर्यबहादुर रावत कारागारमा भएको कारण व्यापार समेत धान्न डम्वरकुमारी आफ्नै घरमा हुनुहुन्छ । पतिले कैद भुक्तान गरी आए आफ्नो बसाई पनि घरमा हुनेमा डम्वरकुमारी सशंकित हुनुहुन्छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तककै तीन वर्षमा महिला माथि हिंसा भएको घटनामा प्रहरी र अदालतमा मुद्दा प्रक्रिया पुगेका घर निकाला, खानलाउन नदिएको लगायतका घरेलु हिंसाका ९७ वटा घटना छन् । अभिलेखीकरणमा छुटेका र जानकारीमा नआएका घटना पनि हुन सक्ने महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सविना बिश्वकर्माको टिप्पणी छ ।

अहिले दैलेख जिल्ला अदालतमा चलिरहेका मुद्दाको संख्या केलाउँदा यो आर्थिक वर्षको ७ महिनामा पतिबाट दुई जना महिलाको हत्या भएको, ११ वटा बहुविवाह, १६ वटा जवरजस्ती करणी, पाँच वटा बालविवाह, १२ वटा घरेलु हिंसा र ६७ जना महिलाले हिंसा सहेर घरबार गर्न सक्दिन भनेर सम्वन्ध बिच्छेदको मुद्दा दर्ता गराएका छन् ।

बहुविवाहको उजुरी गरेपछि आफू बिचल्लीमा परिन्छ र माइतीको बोझ बन्नुपर्छ भन्ने पहिले थाहा पाएको भए उजुरी नदिने दुल्लू नपा–१३ मालिका घर भई दुल्लू नपाा–५ छिउडी बस्दै आउनु भएकी गौरा कुमालको दुखेसो छ ।

धेरैले पढाई छोडेर बालविवाह गर्ने आर्थिक रुपमा आत्मनिर्भर हुन नसकेको कारण बहुविवाह गरेका धेरै महिला माइतीमा बस्न बाध्य भएका महिला तथा बालबालिका सेवा केन्द्रका संयोजक रमा श्रेष्ठले बताउनुभयो ।

पहिले सहमति जनाइएका अवस्थामा अरु पारिवारिक विवादले धेरै बहुविवाह आएका अधिवक्ता सुरेन्द्र अधिकारीको टिप्पणी छ । बहुविवाह रोक्नका लागि समाजको सचेतना अझैं आवश्यकता रहेको उहाँले औल्याउनुभयो ।

पहिले मुलुकी ऐन २०२० मा बढीमा तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवानाको व्यवस्था भएकोमा अहिले मुलुकी अपराध सहिंता २०७४ ले बहुविवाह गर्ने केटा र केटी दुबैलाई ५ वर्ष कैद र ५० हजारसम्म जरिवाना, कान्छी हुन आउनेले वैवाहिक मान्यता नपाउने कडा कानूनी व्यवस्था हुँदा पनि दैलेखमा बहुविवाह संख्या घटेको छैन, वर्षेनी बढ्दै गरेको छ ।

हिंसा पीडित महिलालाई कानूनी संरक्षण छ भन्ने मान्यताका आधारमा उजूरी गर्ने तर उजूरीपछि विवाह भएको घरबाट अपहेलित हुने, घर निकालामा पर्नेसंगै उनीहरु सम्पति, माया र सहयोग नपाएपछि माइतीको संरक्षण जानुपर्ने वाध्यता सिर्जना भएको छ । हिंसा पीडित महिलाहरुको संरक्षण राज्यको दायित्व हुनुपर्ने महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष बिश्वकर्माको विचार छ ।
20200308_Dailekh Bhavikala Magar


अमर सुनार