बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७७ कात्तिक २४ गते

४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मेरिङ्देन गाँउपालिका–२ का २६ वर्षीय अनिश शेर्पालाई कात्तिक २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७४ वैशाख २१ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०७४ वैशाख २८ गते गिरफ्तार गरी बलात्कार प्रयास शीर्षकमा कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतले ०७४ जेठ २२ गते ३५ हजार रुपियाँ धरौटी बुझाएर तारेखमा छाड्ने आदेश दिएपछि आरोपित फरार भएका थिए ।

तारेख बुझ्नुको सट्टा आरोपित फरार भएको र सोही मुद्दामा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७४ वैशाख २२ गते गरिएको थियो ।


देवराज गुरुङ