बलात्कार प्रयास घटनाका आरोपितहरू गिरफ्तार

  ०७७ असोज १२ गते

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नपा–३ भुतहीका ५८ वर्षीय खुशीलाल यादव, ३२ वर्षीय पवन पण्डित कुम्हार र डाक्नेश्वरी नपा–५ पातोका ७३ वर्षीय बिन्देश्वर शर्मालाई असोज ११ गते गिरफ्तार गरेको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले ०७३ भदौ २७ गते आरोपितहरूलाई जनही १० दिनको कैद र ५ सय रुपियाँ जरिबानाको फैसला गरेपछि आरोपितहरू फरार रहेका थिए ।

पीडित महिलालाई आरोपितहरूले ०७३ वैशाख १८ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले प्रहरी चौकी पातोमा उजुरी दिएकी थिइन् ।

प्रहरीले कारवाही नगरेपछि पीडितले जिल्ला अदालतमा वैशाख २८ गते आशय करणीको मुद्दा दर्ता गराएकी थिइन् ।

अदालतको फैसला अनुसार कैद, जरिबाना असुल गर्न गिरफ्तार भएका आरोपितहरूलाई जिल्ला अदालतमा बुझाइने डिएसपी तिलक भारतीले जानकारी दिनु भयो ।


मनोहरकुमार पोखरेल