बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७६ मङ्सिर १० गते

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कैलाली जिल्ला गौरीगङ्गा गाउँपालिका–२ घर भई काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका–३१ शान्तिनगर बस्ने ३० वर्षीय रोहितप्रसाद ढुङ्गानालाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई बलात्कार प्रयास गर्न ढुङ्गानालाई सघाएको आरोपमा जुम्ला जिल्ला सिञ्जा गाउँपालिका–१ घर भई काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका–३२ जडिबुटी बस्ने २० वर्षीया निर्मला शर्मा र कैलाली जिल्ला जानकी गाउँपालिका–५ घर भई काठमाडौँ जिल्ला काठमाडौँ  महानगरपालिका–१० बुद्धनगर बस्ने २२ वर्षीया मिना रिजाललाई पनि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित युवतीलाई मङ्सिर ५ गते जागिरका लागि अन्तरवार्ता लिने बहानामा ललितपुर जिल्ला गोदावरी नगरपालिका–३, स्थित बृन्दावन रिसोर्टमा लगी बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ ।

पीडित युवतीले मङ्सिर ६ गते महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दिएपछि सोही उजुरीका आधारमा आरोपितहरूलाई मङ्सिर ८ गते गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसर जावलाखेलका डिएसपी सन्तोष तामाङले बताउनुभयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण मङ्सिर ६ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।


दीपकप्रसाद घिमिरे