बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७६ असोज १९ गते

बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले असोज १९ गते गिरफ्तार गरेको छ । प्रहरीले उनलाई असोज १९ गते साँझ बालुवाटारस्थित सभामुख निवासबाटै गिरफ्तार गरेको हो ।

संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा असोज १७ गते उजुरी परेपछि प्रहरीले महरालाई गिरफ्तार गर्न अदालतसँग अनुमति मागेको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई गिरफ्तार गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

कहिले के भएको थियो ?

महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप छ ।

पीडित महिलाले सुरुमा दिएको बयानअनुसार महरा त्यो दिन साँझ उनको कोठामा आएका थिए । आफूले घरमा पति छैनन् भन्दाभन्दै आएको र बलात्कार प्रयास गरेको उनको आरोप छ ।

प्रतिवाद गर्दा कुटपिट गरेकोसमेत उनले बताएकी छन् । घटना लगतै उनले प्रहरी कन्ट्रोलको १०० मा फोन गरेर गुहार मागेकी पनि थिइन् । उनको फोनका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली उनको कोठामा पुगेको थियो ।

त्यसको भोलिपल्ट यो घटना बाहिर आयो । महरा र उनको सचिवालयले भने आरोप अस्वीकार गरेको थियो ।

तर, महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकालेको थियो ।

असोज १४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो ।

लगतै महराले सभामुख पदबाट राजीनामा दिए । यद्यपि सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।

उनको राजीनामा आएको केहीबेरमा पीडित महिलाको भिडियो सार्वजनिक भयो, जसमा बोली फेर्दै उनले महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गरिन् ।

उनी उजुरीका लागि प्रहरी कहाँ र स्वास्थ्य परीक्षणका लागि अस्पताल पनि गइनन् । बरु १५ असोजमा बानेश्वर प्रहरीमा गएर ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन दिएकी थिइन् ।

पीडित महिला र उनका पतिबीच सम्बन्ध विच्छेद गर्ने निर्णय गर्दै प्रक्रिया अगाडि बढाएको कुरा १६ असोजमा सार्वजनिक भयो ।

तर, घटनाले त्यसबेला फेरि यू-टर्न लियो, जब पीडित महिलाले असोज १७ गते महराविरुद्ध किटानी उजुरी दिइन् । समाचार साभारः अनलाइन खबर


अनलाइन डेस्क