बलात्कार प्रयास गरेको ठहरमा २ वर्ष ६ महिना कैदको फैसला 

  ०७३ साउन २६ गते

अपाङ्गता भएकी ६३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको ठहर गर्दै भरतपुर उमनपा-२३ का ३४ वर्षीय बुद्धि सुनारलाई चितवन जिल्ला अदालतले साउन २६ गते २ वर्ष ६ महिना कैद सजाय फैसला सुनाएको छ ।

न्यायाधीश टेकनारायण कुँवरको इजलासले उक्त फैसला सुनाएको अदालतका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिए ।

गत जेठ ३२ गते बोल्न र हिड्न समेत नसक्ने अवस्थाकी अपाङ्गता भएकी महिलालाई सुनारले बलात्कार प्रयास गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो ।

गत असार १ गते सुनारलाई गिरफ्तार गरी बलात्कार प्रयासमा जिल्ला प्रहरी कार्यालय चितवनले मुद्दा चलाएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण असार २ गते भरतपुर अस्पतालमा भएको थियो ।


दिपेन्द्र अधिकारी