बलात्कार प्रयास गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला

   ०७६ माघ २४ गते

२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा अदालतले धरान उपमहानगरपालिका–८ का ४० वर्षीय प्रतिक भनिने प्रकाश विश्वकर्मालाई माघ २४ गते चार वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायधीश शङ्करबहादुर राईको इजलासले कसुर ठहर गर्दै कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी गोपाल गिरीले बताउनुभयो ।

आरोपितले ०७६ भदौ २५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध भदौ २६ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले भदौ २६ गते गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको भदौ २७ को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा)मा भदौ २६ गते गरिएको थियो ।

 


जयकृष्ण यादव