बलात्कार पीडितको उपचारमा इन्सेकको सहयोग

  ०७७ असार २० गते

बलात्कार पीडित चार वर्षीया बालिकाको उपचारका लागि इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले असार १९ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

पीडित बालिकाको उपचार तथा कानुनी प्रक्रियामा सहयोग पुर्‍याउने उद्देश्यले पीडितका अभिभावकलाई १५ हजार रुपिँया सहयोग प्रदान गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले बताउनुभयो ।

०७७ जेठ १५ गते बलात्कृत भएकी बालिकाको स्वास्थ्य अवस्था गम्भिर रहेको अभिभावकले इन्सेकलाई बताउनुभयो । घटनाको बारेमा जानकारी भएपछि इन्सेकद्वारा गठित हिंसा निगरानी समूह सुर्खेतले असार १८ गते स्थलगत अनुगमन गरेको थियो ।

उक्त समूहको सिफारिसमा मानव अधिकार सुदृढीकरण कार्यक्रमबाट सहयोग प्रदान गरिएको जानकारी गराउँदै पीडित बालिकाको उपचार तथा पीडकलाई कानुनी कारवाहीको दायरामा ल्याउन इन्सेक लागि पर्ने संयोजक सुवेदीको भनाई छ ।

जिल्ला अदालत सुर्खेतको असार ५ गतेको आदेश अनुसार घटनाका आरोपित २२ वर्षीय राज विक पुर्पक्षको लागि थुनामा रहेको इलाका प्रहरी कार्यालय छिन्चुका असइ जय बहादुर रावतले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १६ गते कर्णाली प्रदेश अस्पतालमा गरिएको अस्पतालका सुपरिटेण्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिनुभयो ।


दुर्गा थापा