बलात्कार घटनामा प्रहरीले उजुरी नलिएको पीडित पक्षको आरोप

  ०७६ मङ्सिर २८ गते

बालिका बलात्कार घटनाको उजुरी प्रहरीले लिन नमानेको पीडित पक्षले आरोप लगाएको छ । पीडित पक्षले मङ्सिर २६ गते तौलिहवामा पत्रकार सम्मेलन गर्दै उक्त आरोप लगाएको हो ।

१६ वर्षीया बालिकालाई मायादेवी गाउँपालिका–२ गङ्गापुर भैसकुण्डाका २२ वर्षीय अजहर तेली मुसलमानले मोबाइलको प्रलोभनमा देखाएर मङ्सिर १८ गते मोटरसाइकलमा बसाएर लगेको र तीन दिनसम्म बन्धक बनाई बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

मार्ने धम्की दिएर मोटरसाइकलमा बसाएर तीन दिनसम्म अपरिचित स्थलमा लगेर बलात्कार गरेको पीडितले बताइन् ।

गाउँमा बालिका हराएको खबर फैलिएपछि अजहरले रुपन्देही जिल्लाको लुम्बिनी क्षेत्रमा पीडित बालिकालाई छाडेर भागेका थिए ।

पीडितलाई रुपन्देही जिल्लाको लुम्बिनी क्षेत्रबाट मङ्सिर २२ गते साँझ फेला पारेर घर ल्याएको पीडितका दाजुले बताउनु भयो ।

घटनाबारे जानकारी पाएपछि उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका पीडित पक्षलाई प्रहरीले घटना लुम्बिनी क्षेत्रमा भएको भन्दै उतै दर्ता गराउन भनेर आफूलाई जिल्ला प्रहरी कार्यलयबाट फर्काएको पीडित पक्षले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी दीप शमसेर जबराले घटना भएको ठाँउ रुपन्देहीको लुम्बिनी भएकाले उतै दर्ता गर्न पीडित पक्षलाई पठाएको बताउनुभयो ।

घटना भएको एक साता बढी भइसक्दा पनि हालसम्म उजुरी दर्ता भएको छैन भने पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत नहुँदा सबुत प्रमाण नष्ट हुने सम्भावना बढेको पीडित पक्षको भनाइ छ ।


पार्वती आचार्य