बलात्कार घटनामा पीडितलाई न्याय दिन प्रहरीले चासो नदिएको आरोप

  ०७६ कात्तिक २७ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले राइनास नपा–५ बस्ने १८ वर्षीय सञ्जित कुमालविरूद्ध जिल्ला प्रहरी कार्यालय, लमजुङमा उजुरी दिएको लामो समय भइसक्दा पनि प्रहरीले सो घटनामा प्रक्रिया अगाडि बढाउन कुनै चासो नदिएको पीडित पक्षले गुनासो गरेका छन् ।

घटना असोज २२ गते भएपछि पीडित पक्षले असोज २६ गते जिल्ला प्रहरी कार्यालय, लमजुङमा उजुरी दिएका थिए । उजुरी गरेको एक महिना भएपनि प्रहरीले आवश्यक प्रक्रिया अघि नबढाएको पीडित पक्षको आरोप छ ।

घटनाको उजुरी पछि पीडित परिवारले पाँच पटकसम्म प्रहरीमा आरोपितका बारेमा जानकारी गराएपनि प्रहरीले चासो नदिएको भनेर पीडितकी आमाले गुनासो गरेको राइनास नगरपालिकाकी उपमेयर धनकुमारी गुरुङले बताइन् ।

आफूले समेत प्रहरीलाई घटनाका बारेमा जानकारी गराउँदा पनि प्रहरीले आरोपितको खोजी गर्नको लागि पहल नचालेको उपमेयर गुरुङको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, लमजुङका डिसपी रवीन्द्रमान गुरुङले भने आरोपको खण्डन गर्दै घटनाका आरोपितको खोजी कार्य जारी रहेको बताए ।


दलबहादुर मजाकोटी