बलात्कार घटनामा दोषी ठहरिएका दुई वर्षपछि गिरफ्तार

  ०७३ भदौ ९ गते

बलात्कार घटनामा दोषी ठहरिएका घोराही नपा-१ सर्राका २० वर्षीय दुर्गा चौधरीलाई प्रहरीले भदौ ६ गते घोराहीबाट गिरफ्तार गरेको छ ।

३० वर्षीया एक महिलालाई ०७१ भदौ १५ गते सामूहिक बलात्कार गरेको घटनामा संलग्न भई घटनापछि फरार भएका चौधरीलाई दुई वर्षछि प्रहरीले गिरफ्तार गरेको हो ।

जिल्ला अदालतले दुर्गा चौधरीलगायत चार जनालाई सफाई दिएपछि पीडितले जिल्ला अदालतको फैसला उपर चित्त नबुझेको भन्दै ०७२ असार ७ गते पुनरावेदन अदालतमा पुनरावेदन गरेकी थिइन् ।

पुनरावेदन अदालत तुलसीपुरका न्यायाधीश कुमार चुडाल र श्रीमनकुमार गौतमको संयुक्त इजलासले ०७३ जेठ ११ गते चौधरीलाई दोषी ठहर गर्दै १० वर्षकैद गर्ने फैसला गरेको थियो । बलात्कारपछि फरार रहेका चौधरीलाई गिरफ्तार गरी जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी धिरजप्रताप सिंहले बताए ।

घटनामा संलग्न पाँच जनामध्ये एक जनालाई जिल्ला अदालतले पाँच वर्षको कैद फैसला तोकेको थियो भने अन्य तीन जना फरार रहेको प्रहरीले जनाएको छ ।


जे.एन.सागर