बलात्कार घटनामा दोषी ठहर गर्दै तीन महिना कैदको फैसला

  ०७३ भदौ १५ गते

नौ वर्षीया बालिकालाई बलात्कार गरेको घटनामा दोषी ठहर गर्दै लक्ष्मीपुर गाविस-९ का १५ वर्षीय एक बालकलाई दाङ जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश बलभद्र बास्तोलाको इजलासले भदौ १५ गते अभियोग ठहर गर्दै घटनामा संलग्न व्यक्ति बालक भएकाले तीन महिनासम्म अदालतको तहसील शाखामा प्रत्येक शुक्रबार तारेखमा आउने गरी फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार गम्भीर रानाले बताए । आदलतले घटनामा संलग्न बालकलाई उनका बुवाको जिम्मा लगाएको जनाएको छ ।

पीडित बालिकालाई साउन २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध प्रहरीमा भदौ १ गते उजुरी दिएको थियो । आरोपितलाई साउन ३१ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण राप्ती उपक्षेत्रीय अस्पतालमा साउन ३० गते गरिएको थियो ।


जे.एन.सागर