बलात्कार घटनाबाट पीडित बालिकाद्वारा आत्महत्या

  ०७७ भदौ ३० गते

डाकनेश्वरी नगरपालिका–७ की १७ वर्षीया नन्की भनिने सङ्गिता मण्डललाई बलात्कार गरेका आरोपितहरूविरुद्ध उजुरी गर्न गाउँलेले रोक लगाएपछि पीडितले भदौ ३० गते आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।

सामूहिक बलात्कार घटनाका आरोपितहरूविरुद्ध प्रहरी कहाँ उजुरी गर्न केही गाउँलेहरूले नै रोक लगाउँदै धम्कीपूर्ण चेतावनी दिएपछि पीडित बालिकाले घरमै भुण्डिएर आत्महत्या गरेको घटनास्थल पुग्नु भएका इन्स्पेक्टर सन्तोष खडकाले बताउनु भयो ।

इन्स्पेक्टर सन्तोष खडकाले १८ वर्षीय रञ्जित मण्डल र १९ वर्षीय बब्लु मण्डलले बलात्कार गरेको जानकारी प्राप्त भएको इन्सेक सप्तरी प्रतिनिधिलाई बताउनु भएको छ भने स्थानीयले रञ्जित र बब्लुसमेत ३० वर्षीय धर्म मण्डल र सोही उमेरका बिष्णु मण्डल समेत आरोपित रहेको जानकारी दिएका छन् ।

धानखेतमा पानीको अवस्था हेर्न गएकी बालिकालाई भदौ २९ गते बिहान सामूहिक बलात्कार भएको जानकारी दिनुहुँदै मृतक बालिकाकी आमाले प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेहरूले धम्क्याउँदै उजुरी गर्न रोकेपछि छोरी निकै तनावमा परेको बताउनु भयो ।

मण्डल समुदायका ८÷१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरूबाट भदौ २९ गते ५५ हजार रुपियाँ क्षतिपूर्ति भराउने निर्णय गरेको छिमेकीहरूले जानकारी दिए ।

घटनाको खबर पाएलगत्तै भदौ ३० गते इन्स्पेक्टर खडकाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली, इन्स्पेक्टर धर्मराज मुडभरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोली, इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी प्रवाहाको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।

घटनास्थलमा पीडितले जोगिनका लागि धानबाली र आली समातेर गरेको सङ्घर्षका चिन्हहरू, मडारिएको धानका बाला, फुटेका हातका चुराहरू र अन्य प्रमाणहरू सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

बालिकाको मृत्युपछि आरोपितहरू फरार भएका छन् । घटनास्थल पुगेको प्रहरी टोलीले पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने सोही ठाउँका पञ्चहरू ५५ वर्षीय जयकान्त मण्डल, ४५ वर्षीय बासुदेब मण्डल र ३५ वर्षीय सत्यनारायण मण्डललाई गिरफ्तार गरेको जनाएको छ ।

मृतकको शव भदौ ३० गते राति राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याएर राखिएको छ । शवको पोष्टमार्टम धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिने जानकारी दिनुहुँदै इन्स्पेक्टर खडकाले भदौ ३१ गते बिहान शवलाई पोष्टमार्टमका लागि धरान पठाइने बताउनु भयो ।


मनोहरकुमार पोखरेल