बलात्कार घटनाको कसूरमा ६ महिना कैद फैसला

  दैलेख । ०७६ माघ १५ गते

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा १३ वर्षीय बालकलाई दैलेख जिल्ला अदालतले ६ महिना कैद र पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले माघ १५ गते उक्त फैसला गरेको दैलेख जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिनुभयो ।

घटनाका आरोपित बालक १४ वर्ष मुनिको भएको कारण बाल न्याय कार्यविधि अनुसार अधिकतम् ६ महिना कैद गर्न सकिने भए अनुरुप सजाय तोकेर पनि सजाय स्थगन गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिनु भयो ।

सुध्रन सक्ने सम्भावना र पारिवारिक अवस्था समेतलाई बिश्लेषण गरी बाल न्याय कार्यविधि २०६४ अनुसार बिज्याईकर्ता बालकलाई सजाय तोकिए पनि हाललाई अभिभावकै जिम्मा लगाउन अदालतको फैसलामा उल्लेख छ ।
बालकको आफ्नो डेरामा ०७६ वैशाख २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २८ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीको आधारमा प्रहरीले आरोपितलाई खोजी गरेपनि फेला पार्न सकेको थिएन ।
आरोपित बालक साउन २ गते अभिभावकसहित प्रहरीमा हाजिर भएकोमा जिल्ला सरकारी वकील कार्यालय दैलेखले अदालतले खोजेको समयमा हाजिर गराउने गरी अभिभावकको जिम्मामा छोडेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २८ गते दैलेख जिल्ला अस्पतालमा भएको थियो । अनुुसन्धान सकेपछि प्रहरीले जिल्ला सरकारी वकील, कार्यालय दैलेखमार्फत दैलेख जिल्ला अदालतमा साउन ९ गते मुद्दा पेश गरेको थियो ।


अमर सुनार