बलात्कार घटनाको कसुरमा १० वर्ष कैदको फैसला

  ०७६ मङ्सिर ६ गते

४५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नपा ६ का ४५ वर्षीय सरेन्द्र कुगेनाम्बालाई मङ्सिर ५ गते १० वर्ष कैदको फैसला गरेको छ ।

मोहनराज भट्टराईको इजलासले कसुरदारबाट २५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति र १० हजार रुपियाँ जरिबाना समेत भराउन फैसला गरेको अदालतले जनाएको छ । आरोपित साउन १६ गतेदेखि पूर्पक्षका लागि कारागारमा रहेका थिए ।

पीडित महिलालाई आरोपितले असार २४ गते बलात्कार गरेको भन्दै असार २५ गते उनीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो ।

प्रहरीले आरोपितलाई असार २५ गते नै गिरफ्तार गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण तथा उपचार असार २५ गते नै जिल्ला अस्पतालमा गरिएको थियो ।


मङ्गल बेघा