बलात्कार घटनाको कसुरमा आठ वर्षकैदको फैसला

  ०७५ चैत २६ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले लहान नपा-१८ का ५८ वर्षीय वैधनाथप्रसाद चौधरीलाई चैत २५ गते ८ वर्षकैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको एकल इजलाशले सो फैसला गरेको सरकारी वकिल कार्यालयका एकराज अधिकारीले बताए । अधिकारीका अनुसार पीडितलाई २ लाख रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने समेत फैसला भएको छ ।

बालिकालाई ०७४ जेठ २१ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय, लहानमा जेठ २२ गते उजुरी दिएका थिए । बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा जेठ २२ गते नै भएको थियो ।

इलाका प्रहरी कार्यालय, लहानले आरोपितलाई जेठ २२ गते गिरफ्तार गरेको थियो । आरोपित जिल्ला अदालतको आदेशमा असार १६ गतेदेखि पुर्पक्षका लागि थुनामा रहे पनि उच्च अदालत राजबिराजको कात्तिक १६ गतेको आदेशमा आरोपित एक लाख रुपियाँ धरौटीमा रिहा भएका थिए ।


दुर्गा परियार