बलात्कार घटनाको आरोपमा उजुरी दर्ता

  ०७३ कात्तिक ११ गते

एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा नवराजपुर गाविस-१ का १८ वर्षीय पङ्कजकुमार यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा कात्तिक ९ गते उजुरी दर्ता गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २९ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले सोही दिन उजुरी दिएको भएपनि प्रहरीले दर्ता नगरेको पीडित पक्षले आरोप लगाएको छ ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीले पीडित परिवारले घटना भएको दिन प्रहरी कार्यालयमा आएर घटनाको बारेमा जानकारी गराएको तर त्यसको भोलिपल्टदेखि सम्पर्कमै नआएका कारण उजुरी दर्तामा ढिलाइ भएको बताए ।

उनले भने-'अहिले पनि प्रहरीकै सक्रियतामा पीडित पक्षलाई प्रहरी कार्यालयमा बोलाएर उजुरी दर्ता गरेका हौं ।'

आरोपित यादव फरार रहेकाले खोजी कार्य भइरहेको डिएसपी केसीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २९ गते जिल्ला अस्पताल सिरहामा गरिएको प्रहरीले जनाएको छ ।


दुर्गा परियार