बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

  ०७७ साउन ८ गते

बालिकालाई आफ्नै कोठामा लगेर बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त थिमीले रामेछाप जिल्ला, खाँडादेवी गाउँपालिका–९ का राजेश भनिने सुरेश भण्डारीलाई ०७७ साउन ६ गते गिरफ्तार गरेको छ ।

आरोपित भण्डारीले बालिकालाई पत्रिकाको ग्राहक बनाइदिन्छु भनेर आफ्नै कोठामा लगेर डर, धम्की दिई ०७६ जेठ २७ गते बलात्कार गरी फरार रहेको र यही असारमा बालिकाले छोरा जन्माएपछि परिवार र आफन्तले घटनाबारे थाहा पाएका थिए ।

पीडित बालिकाकाको आमाले असार १४ गते प्रहरी बृत्त थिमीमा जबरजस्ती करणी मुद्दामा उजुरी दिएपछि प्रहरीले साउन ६ गते आरोपित भण्डारीलाई गिरफ्तार गरेको डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।

मध्यपुर थिमि नगरपालिका–४ मा मासु पसल सञ्चालन गर्ने भण्डारी बालिका गर्भवती भएको थाहा पाएपछि कसैलाई भने मारिदिने धम्की दिई फरार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिँदै डिएसपी गिरीले भण्डारीलाई जबरजस्ती करणी मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको बताउनु भयो । पीडित बालिकालाई भने एक सामाजिक संस्थाको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो ।


रमेश गिरी